धुलिखेल अस्पतालललाई नै प्रथम सेवा विन्दु कायम गर्न स्वास्थ्यमन्त्रीलाई ज्ञापन

नौलो समाचार संवाददाता
२०८२ श्रावण १२, सोमबार मा प्रकाशित ४९७ पटक पढिएको

धुलिखेल  अस्पतालललाई नै प्रथम सेवा विन्दु कायम गर्न स्वास्थ्यमन्त्रीलाई ज्ञापन

धुलिखेल / नेपाली कांग्रेसको अगुवाईमा धुलिखेलका विभिन्न राजनीतिक दलहरुले धुलिखेल अस्पताललाई नै स्वास्थ्य विमाको प्रथम सेवा विन्दु कायम गर्न माग गर्दै संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको नेतृत्वमा कांग्रेसको धुलिखेल नगर कार्यसमिति, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी धुलिखेलसहितका राजनीतिक दल र जनप्रतिनिधीहरुले २०८२ असार मसान्तसम्म प्रथम सेवा बिन्दुको रुपमा सेवा दिदै आएको धुलिखेल सामुदायिक अस्पताललाई प्रथम सेवा बिन्दुको रुपमा कायम गरीदिन स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्रमा धुलिखेल अस्पताल प्रथम सेवाविन्दु कायम नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा भौतिक पूर्वाधारको व्यवस्था, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था मिलाई प्रथम सेवा विन्दुबाट दिने सेवा सञ्चालन गर्नको लागि निर्देशन दिन भनिएको छ । दक्षिण एसियाको दोस्रो र नेपालको पहिलो ‘स्वस्थ्य शहर’ धुलिखेलमा रहेको १५ बेडको प्रादेशिक अस्पताल सञ्चालनमा ल्याई धुलिखेल नगरमा रहेको सम्पूर्ण स्वास्थ्य चौकिहरुको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण एवं जनशक्तिको व्यवस्था गरी गुणस्तरीय सेवा प्रबाहको लागि यथाशिघ्र पहल कदमी गर्न पनि माग गरिएको छ ।


१ घण्टा लामो छलफलमा कांग्रेस केन्द्रीय सदस्य हुमागाईले पूर्वाधार तयार नगरी सामुदायिक अस्पताल धुलिखेल अस्पतालको प्रथम सेवा विन्दु हटाउँदा काभ्रे र आसपासका ३ लाख भन्दा बढी सेवाग्राही प्रभावित भएको भन्दै धुलिखेल अस्पतालको सेवा यथावत राख्न अनुरोध गरे । उनले सेवा सुचारु नहुँदा सम्म धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य केन्द्र र धुलिखेलको नगर अस्पताल तत्काल सञ्चालनमा ल्याउन पहल गरिदिन अनुरोध गरे । मन्त्रीको कार्यक्षमता माथि प्रश्न उठेको भन्दै जनताको समस्या तत्काल समाधनको लागि अनुरोध गरे ।

जवाफमा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाको सुदृढिकरण र क्षमता अभिवृद्धिको लागि धुलिखेल लगायत धेरै सामुदायिक र सरकारी अस्पतालमा रहेको प्रथम सेवा विन्दु हटाइएको जानकारी दिदै ती अस्पतालमा रेफरल सेवा (विशेषज्ञ सेवाका लागि) प्रदान गर्ने निर्णय गरेको बताए । आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको दायित्व भएको संविधानमा नै उल्लेख भएको तर्क गर्दै जनशक्ति, उपकरण लगायतका पूर्वाधार सहयोग गर्न तयार भएको र स्थानीय तहले पनि सेवा दिन तदारुकता दिनुपर्ने बताए ।

यसअघि धुलिखेल नगरपालिका, धुलिखेलका राजनीतिक दलहरु र प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल व्यवस्थापन समितिले पनि जनशक्ति, पूर्वाधार लगायतका कारणले तत्काल प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा दिन नसक्ने भन्दै धुलिखेल अस्पताललाई नै प्रथम सेवा विन्दु कायम गर्न अनुरोध गर्ने निर्णय गरेका थिए ।

२०७६ मंसिर १ गतेदेखि प्रथम सेवा विन्दुको रुपमा सुचिकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखाल मध्ये मेथिनकोट अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र सुन्थान र खोपासीले मात्रै सेवा दिँदै आएको छन् । २०७६ देखि नै सुचिकृत भएपनि सेवा दिन आलटाल गर्दै आएका धुलिखेल र पाँचखालले पूर्वाधार र जनशक्तिको कारण देखाउँदै अझै सेवा दिन नसकिने भन्दै सूचना नै जारी गरेका छन् ।

सरकारी स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रममा प्रथम सेवा विन्दुको सेवा लिन पाउने व्यवस्था सरकारले गरेपछि धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु तोकेका २ लाख ५३ हजार ६ सय ८८ सेवाग्राहीको उपचार प्रभावित हुँदै आएको छ ।

सामुदायिक अस्पताल धुलिखेल अस्पतालको प्रथम सेवा विन्दुबाटै विशेषज्ञ र अत्याधुनिक परिक्षण लगायतका उपचार सेवा लिँदै आएका सेवाग्राहीले अब ती सेवा लिनको लागि प्रथम सेवा विन्दु तोकिएका सरकारी स्वास्थ्य संस्थाबाट रिफरल (प्रेषण पत्र) लिनुपर्छ । २०८२ असार १० गते स्वास्थ्य बीमा बोर्डले निर्देशन जारी गरेर २०८२ श्रावण १ गतेदेखि प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने तथा धुलिखेल अस्पतालजस्ता सामुदायिक अस्पतालमा स्वास्थ्य बीमा मार्फत उपचार गराउन आउने सम्पुर्ण विरामीहरुले प्रथम सेवा विन्दुबाट आकस्मिक अवस्थामा बाहेक प्रेषण पूर्जी ( रिफलर पत्र) अनिवार्य लिएरमात्र आउनुपर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य विमा लागू भएका अन्य स्वास्थ्य संस्था भन्दा गुणस्तरीय सेवा भएको कारण विरामीको रोजाइमा धुलिखेल अस्पताल पर्दै आएको छ । धुलिखेल अस्पतालका अलावा काभ्रेका लागि मेथिनकोट अस्पतालका साथै खोपासी, सुन्थान, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दु तोकिएको भएपनि पहिलो रोजाईमा धुलिखेल अस्पताल पर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस