खावा / खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूलाई खानेपानी सुरक्षा योजना निर्माणका लागि अभिमुखीकरण गरिएको छ।
काठमाडौँको कलङ्कीमा रहेको उज्यालो नेपाल संस्थाले खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुलाई खानेपानी प्रणाली विकास, व्यवस्थापन, सञ्चालन तथा पानीको गुणस्तर परीक्षण सम्बन्धी एक दिवसीय क्षमता अभिवृद्धि तथा अन्तरक्रिया गरेको हो।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको गुणस्तर शाखामा कार्यरत केमिस्ट अनुराधा ज्ञवाली लगायतका विज्ञहरूले सहभागीहरूलाई पानीको गुणस्तर कायम गर्न यसका मापदण्ड र प्राविधिक पक्षबारे जानकारी गराएका थिए। सहभागीहरूलाई राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ का विभिन्न व्यवस्था, पानीको गुणस्तर मापन, शुद्धिकरण विधिका साथै पानीजन्य रोग लगायतका बारेमा प्रशिक्षण दिइएको थियो ।

उज्यालो नेपाल संस्थाका अध्यक्ष सञ्जय तामाङका अनुसार, जर्मनीको लिचब्लिक संस्थाको सहयोगमा काभ्रेका विभिन्न पालिकाका ३२ वटा खानेपानी तथा सरसफाई आयोजनालाई २०७२ सालयता सहयोग गर्दै आएको छ। उनका अनुसार, पाँचखाल नगरपालिकाका २६, भुम्लु गाउँपालिका र मण्डन देउपुर नगरपालिकाका २/२ वटाका साथै बनेपा नगरपालिका र बेथानचोक गाउँपालिकाका १/१ वटा संस्थालाई सहयोग गर्दै आएको छ। सुरुमा खानेपानीको उपलब्धताका लागि काम गरेको संस्थाले `एक घर, एक धारा’को अभियान पूरा गर्दै अहिले स्वच्छ खानेपानी सुनिश्चितताका लागि काम गरेको उनले जानकारी दिए।
कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले पानीले मानव स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको स्वच्छता र सरसफाईमा ध्यान दिनुपर्ने बताए । नगरपालिकाका केही वडामा अझै खानेपानीका स्रोत र उपलब्धता आवश्यकता औल्याउँदै खानेपानीका लागि पूर्वाधार थप्न पालिकाले काम गरिरहेको जानकारी दिए।
उपप्रमुख सूर्यमाया दनुवारले खानेपानीको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उज्यालो नेपाल संस्थालाई आभार प्रकट गरे।
प्रतिक्रिया दिनुहोस