जिल्लावासीलाई रगत निशुल्क उपलव्ध गराउन रेडक्रसमा २ करोडको अक्षय कोष

नौलो समाचार संवाददाता
२०८२ श्रावण १८, आईतबार मा प्रकाशित ३३९ पटक पढिएको

जिल्लावासीलाई रगत निशुल्क उपलव्ध गराउन रेडक्रसमा २ करोडको अक्षय कोष

बनेपा / नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवालाई सुदृढ बनाउनको लागि २ करोडको अक्षय कोष स्थापना गरिएको छ ।

आइतबार बनेपामा आयोजित एक कार्यक्रममा २ करोडको कोष स्थापना गर्न अभियान शुरु गरिएको घोषणा गरिएको हो ।

जिल्ला शाखा सभापति देवेन्द्रप्रसाद भैलले १ बर्षभित्र २ करोड पुर्याउने लक्ष्यका साथ थालिएको अभियानमा विभिन्न व्यक्ति र संघ संस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए । उनका अनुसार, नेपाल रेडक्रस सोसाइटीको बनेपा उपशाखाले १० लाख, भुमिडाँडा उपशाखाले ५ लाख, चण्डेश्वरी, मंगलटार र पनौती उपशाखाले २÷२ लाख र अन्य उपशाखाले कम्तीमा १ लाख रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला कार्यसमितिका सदस्य, जनप्रतिनिधीहरुले पनि कोषमा सहयोग गरेको उनले जानकारी दिए ।

घोषणा कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले रक्तसेवा सुदृढ गर्न रेडक्रस जिल्ला शाखा काभ्रेपलाञ्चोकले थालेको अभियान निकै उपयोगी भएको भन्दै प्रदेश सरकारले सघाउने बताए ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले रेडक्रसको अभियानमा बनेपा नगरपालिकाले सधै साथ दिने भन्दै व्यक्तिगत रुपमा ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सल्लाहकार श्यामसुन्दर श्रेष्ठ, उपसभापति पुष्पा खड्का बस्नेतलगायतले अभियानको लागि सबैको साथ र सहयोग आवश्यक भएको तर्क गरेका थिए ।

कार्यक्रममा रेडक्रस अभियानमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस