बागमती प्रदेशको मुख्यमन्त्री बने इन्द्रबहादुर बानियाँ

नौलो समाचार संवाददाता
२०८२ श्रावण २०, मंगलबार मा प्रकाशित ३७३ पटक पढिएको

बागमती प्रदेशको मुख्यमन्त्री बने इन्द्रबहादुर बानियाँ

हेटौंडा / नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् ।

कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जनाको समर्थनसहित सोमबार दाबी प्रस्तुत गरेका बाँनियालाई मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुन् ।

बानियाँसहित नवनियुक्त ८ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कांग्रेसका शिवराज अधिकारीलाई पछि जिम्मेवारी तोकिने गरी मन्त्री नियुक्त गरिएको छ । सिन्धुपाल्चोकबाट निर्वाचित कांग्रेस संसदीय दलका सदस्य सचिव कृष्णकुमार तामाङले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेले कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मधुसूदन पौडेल, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रीमा दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्रीमा किरण थापा मगर र वन तथा वातावरा मन्त्रीमा भरत केसीलाई सिफारिस गरेको थियो । सबैलाई प्रदेश प्रमुख देवकोटाले मंगलबार नै पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा विरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले दलमा दर्ता गराएको अविश्वास प्रस्ताव पारित भएपछि प्रकृयाबाट बानियाँ दलको नेता निर्वाचित भएका थिए । लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा बानियाँले दाबी प्रस्तुत गरेका थिए ।

को हुन् बानियाँ ? 

वि.सं २०२७ साल भदौ १५ गते साविक हर्नामाडी–४ दियावती, मकवानपुरमा जन्मिएका बानियाँबानियाँ ०४४ सालदेखि राजनीतिमा होमिएका हुन् । २०४६ मा नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस उपसभापति, २०५१ मा कांग्रेस महाधिवेशन प्रतिनिधि, २०५२ मा नेपाल विद्यार्थी संघ, मकवानपुर जिल्ला सहसचिव, २०५५ मा नेपाल तरुण दल, मकवानपुर जिल्ला सचिव भएका बानियाँले २०५६ सालमा नेपाल तरुण दल, मकवानपुर जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन् ।

२०५६ सालदेखि निरन्तर हालसम्म महासमिति सदस्य, २०५८ सालमा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य रहेका उनी २०६४ सालमा संविधानसभा सदस्य निर्वाचनमा मकवानपुरको प्रनिनिधी सभा क्षेत्र नं १ मा पराजित भएका थिए । सोही क्षेत्रबाट २०७० मंसिर ४ गतेको संविधान सभा निर्वाचनामा भने प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए ।

 

२०७२ माघ २५ देखि ०७८ मंसिरसम्म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापति रहेका बानियाँ २०७३ मंसिर १५ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री, २०७३ फागुन ३० गते गृह राज्यमन्त्री भएका थिए ।

२०७४ मा भएको प्रदेश सभा निर्वाचनमा उनी प्रतिनिधिसभा क्षेत्र नम्बर २ को (ख) बाट प्रत्यक्षतर्फ सदस्य निर्वाचित भएका थिए । २०७४ पुस ३ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता सर्वसम्मत निर्वाचित भएका उनी २०७८ मंसिर २० गते कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित भए । २०७९ मंसिर ७ गते मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को (ख) बाट पुनः प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ २०८२ साउन १४ गते कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता निर्वाचित भएका थिए ।






प्रतिक्रिया दिनुहोस