युवा संघमा छचल्कियो एमालेको ‘शक्ति संघर्ष’

नौलो समाचार संवाददाता
२०८२ श्रावण २५, आईतबार मा प्रकाशित ४६९ पटक पढिएको

युवा संघमा छचल्कियो एमालेको ‘शक्ति संघर्ष’

धुलिखेल / नेकपा एमालेमा जारी ‘शक्ति संघर्ष’ पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा देखिएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति समेत रहेका पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी बीच देखिएको शक्ति संघर्ष राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको ११औं जिल्ला अधिवेशनमा छताछुल्ल भएको हो ।

पार्टी अध्यक्ष ओली निकट समूह आफूलाई पेलेर जान खोजिएको र अनाधिकृत रुपमा अधिवेशन आह्वान गरिएकाले स्थगित गर्नुपर्ने पक्षमा छ भने एमाले जिल्ला कमिटीको साथ पाएको विद्या भण्डारी पक्षीय युवा संघको नेतृत्व भने स्थगन गर्ने प्रदेश कमिटीको निर्देशन समेत बेवास्ता गर्दै अधिवेशन गर्ने पक्षमा छ । बामती प्रदेश अध्यक्ष हरिशरण जमकटेल र काभ्रे इञ्चार्ज रहेका केन्द्रीय सदस्य सागर रायमाझीले पनि अधिवेशन स्थगित गर्न निर्देशन दिएका छन् ।

जिल्ला अध्यक्ष ईश्वर बल्लभ सापकोटाले स्थगन गर्न कुनै पनि आधिकारिक पत्र प्राप्त नभएकाले अधिवेशन ‘कुनै पनि हालतमा’ नरोकिने बताए । ‘हामीलाई आधिकारिक रूपमा पत्र आएको छैन, अधिवेशन हुन्छ, कुनै पनि हालतमा रोकिँदैन,’ उनले नौलो समाचारसंग भने ।

जिल्ला कमिटीको निर्णय बेगर नै अधिवेशनको मिति तय गरिएको भन्दै असन्तुष्ट उपाध्यक्ष रूपक रायमाझीको नेतृत्वमा केन्द्र र प्रदेशलाई जानकारी गराइएको थियो । साउन १७ गते तय भएको अधिवेशन मितिमा कुनै सहमति नजुटेपछि केन्द्रीय कमिटी उपाध्यक्ष महाराजा गुरुङ र महासचिव महेश चौलागाई समेतको उपस्थितिमा भएको बैठकमा समेत अधिवेशन मितिबारे कुनै निर्णय हुन सकेको थिएन ।

पूर्ण कमिटीको बैठक राखेर अधिवेशन मिति तय गर्न गरेको प्रस्ताव अध्यक्ष सापकोटा समूहले बेवास्ता गरेको भन्दै उपाध्यक्ष रूपक रायमाझी पक्षले अनाधिकृत रुपमा तोकिएको अधिवेशनमा प्रतिनिधि नपठाउन भन्दै पालिका कमिटीलाई पत्राचार गरेका थिए । ‘विधि र प्रकृया वेवास्ता गर्दै अनाधिकृत रुपमा एकलौटी तरिकाले अधिवेशन गर्न खोजेकोले प्रतिनिधी नतोक्न पत्राचार गरेका हौं,’ उनले नौलो समाचारसंग भने ।

नमोबुद्ध नगर कमिटी का साथै रोशी, महाभारत, खानीखोला, बेथानचोक र तेमाल गाउँपालिका कमिटीले दोहोरो निर्देशन र परिपत्र आएकाले विवादका बीच प्रतिनिधि चयन गर्न नसक्ने निर्णय गर्दै जिल्ला कमिटीलाई पत्र लेखेका छन् ।

मूल पार्टी नेकपा एमाले पनि जिल्लामा विभाजित छ। जिल्ला इन्चार्ज रहेका एमाले पोलिट्व्युरो सदस्य गोकुलप्रसाद बास्कोटा, जिल्ला अध्यक्ष राजन भुर्तेल लगायतका नेता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन् भने केन्द्रीय सदस्य रेशम लामा, जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा लगायतका नेताहरु प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका छन् ।






प्रतिक्रिया दिनुहोस