सामाजिक विकासमन्त्री बादेलाई नेपाली कांग्रेसको सम्मान

नौलो समाचार संवाददाता
२०८२ भाद्र २, सोमबार मा प्रकाशित ५२३ पटक पढिएको

सामाजिक विकासमन्त्री बादेलाई नेपाली कांग्रेसको सम्मान

बनेपा / बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सम्मान गरेको छ ।

नेपाली कांग्रेस बागमतीका महामन्त्री समेत रहेका बादेलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकसहित पार्टीका विभिन्न तह र भातृ संस्थाहरूले सम्मान गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले सोमबार गरेको कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामासहित जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं १ (२) का सभापति चन्द्रबहादुर लामा, प्रदेशसभा क्षेत्र नम्बर १ (१) का सभापति रामबहादुर योञ्जन, नेपाल विद्यार्थी संघ काभ्रेलाञ्चोकका सभापति अन्जनराज खतिवडा लगायतले उनलाई सम्मान गरेका हुन् ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सदस्य नियुक्त भएका कांग्रेस जिल्ला सदस्य दिपेन्द्र पौड्याललाई सम्मान गरेको थियो ।

सम्मानपछि सामाजिक विकासमन्त्री बादेले काभ्रेपलाञ्चोक जिल्लासँगै समग्र प्रदेशको विकास आफ्नो प्राथमिकतामा रहेको बताए । सभापति तीर्थ लामा सँगसँगै यात्रा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफू व्यक्तिगत नभई पार्टी र संस्थागत कामलाई अघि बढाउने बताए । मन्त्रालयको कार्यक्षेत्र अनुसार सामुदायिक विद्यालयलाई अब्बल बनाउने अभियानमा आफू लागेको उनले बताए ।

जिल्ला सभापति तिर्थ लामाले जिल्लाको हित र विकासमा काम गर्न अनुरोध गरे ।

जिल्ला उपसभापति ठाकुरप्रसाद न्यौपानेले लामो राजनीतिक इतिहास बोकेको परिवार र व्यक्तित्व भएकाले मन्त्री बादेबाट पार्टी र जिल्लाले लाभ लिन सक्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति, क्षेत्रीय, नगर कार्यसमितिका साथै भातृ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति थियो ।






प्रतिक्रिया दिनुहोस