भकुण्डेबेशी / मेथिनकोट अस्पतालमा एक महिलाको अण्डाशयबाट ८ केजीको ट्युमर (मासुको डल्लो) निकालिएको छ ।
चिकित्सकहरूको टोलीले ती महिलाको अण्डाशयबाट शल्यक्रिया गरी ३० सेन्टिमिटर लामो ट्युमर निकालेका हुन् ।
रोशी गाउँपालिका वडा नं ६ सिपालीकी २२ वर्षीय केशरीमाया तामाङ सुत्केरी गराउन मेथिनकोट अस्पताल पुगेकी थिइन् । स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डा. सरोजकुमार यादव र डा. कोपिला तामाङ, मेडिकल अफिसर डा. सन्तोष सापकोटा, एनेस्थेसिया निरिक्षक राधेश्याम शाह र नर्सहरूको टोलीले तामाङको सफलतापूर्वक शल्यक्रिया गरेको हो । केशरीमायाले ३ केजी तौल भएको शिशु जन्म दिएकी छन् ।

डा. यादवका अनुसार, मंगलबार अस्पताल भर्ना भएकी केशरीमायालाई सुत्केरी गराउन सिजेरियन सेक्सन (शल्यक्रिया मार्फत बच्चा जन्माउने विधि) गरिएको थियो । ‘चार महिनाको गर्भ रहँदा थापाथली स्थित प्रसुति अस्पतालमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गर्दा २२ देखि २५ सेन्टिमिटरको मासुको डल्ला भएको पत्ता लागेको रहेछ,’ शल्यक्रियामा संलग्न डाक्टर यादवले भने, ‘त्यसपछि उहाँले फेरि भिडियो एक्सरे गराउनु भएको रहेनछ, अहिले मासुको डल्ला बढेर ३० सेन्टिमिटर भएको रहेछ, हामीले शल्यक्रिया गरेर निकाल्दा उक्त ट्युमरको तौल ८ केजी थियो ।’ सीमित स्रोत साधन र जनशक्तिका बावजुद सफलतापूर्वक शल्यक्रिया गर्न सकेकोमा डा. यादवले सन्तोष व्यक्त गरे । उनका अनुसार, आमा र बच्चा दुबैको स्वास्थ्य खतरामुक्त छ । थप परीक्षणहरू गरिने उनले जानकारी दिए ।
प्रादेशिक अस्पताल को हैसियतमा रहेको मेथिनकोट अस्पतालमा थप जनशक्ति व्यवस्थापन भएसँगै यस प्रकारका शल्यक्रियाहरू थालिएको छ ।
प्रतिक्रिया दिनुहोस