भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकामा ‘मेयरसँग बालबालिका’ कार्यक्रममा नगरप्रमुख कुनसाङ लामासंग बालबालिकाले प्रत्यक्ष सम्वाद गरेका छन् ।
बुधबार नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी विभिन्न विद्यालयस्थित बाल क्लवका सदस्य, विद्यार्थीहरुले जिज्ञासा र आफ्ना समस्या नगर प्रमुख समक्ष राखेका हुन् ।
जनक माध्यमिक विद्यालयका किरण दाहालले विद्यालय तहमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे ।
बालबालिकाहरुले विद्यालय बस, छात्राबासको व्यवस्थापन गर्न, खेलकुद मैदान, कम्पाउण्ड वाल निर्माण, विद्यालय नर्सको व्यवस्थापन गर्न, कक्षा १२ सम्मका विद्यार्थीलाई पनि दिवा खाजा व्यवस्थापन गर्न अनुरोध गरेका थिए । बालबालिकाहरुले खेलकुद सामाग्री, निशुल्क पोशाक, छात्रवृति, मञ्च लगायतका विद्यालय पूर्वाधार निर्माण गरिदिन अनुरोध गरेका थिए ।

जवाफमा नगर प्रमुख कुनसाङ लामाले शिक्षा र बालबालिकालाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट तयार गरेको भन्दै बालबालिकाका समस्याहरु क्रमशः समाधान गर्दै जाने बताए । नगरको सिमित श्रोतका कारण सबै आवश्यकता एकैपटक पुरा हुन नसक्ने भन्दै उनले बालबालिकाका समस्या, सबाल र आवश्यकता प्रदेश र संघ सरकारसंगको सहकार्यमा पुरा गर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बालबालिकाले आफ्ना समस्या, गुनासो, जिज्ञासा प्रत्यक्ष रुपमा नगर प्रमुखसँग सोध्न सकुन् र नीति निर्माण र कार्यान्वयन प्रकृयाबारे जानकारी लिन सकुन् भन्ने उद्धेश्यले कार्यक्रम गरिएको बताए ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर तामाङले नगर शिक्षा योजना निर्माणको चरणमा रहेको भन्दै विद्यार्थी शिक्षक अनुपात मिलान, दरबन्दी मिलान लगायत शिक्षासंग सम्बन्धित समस्या क्रमश समाधान हुँदै जाने बताए ।

स्वास्थ्य शाखा प्रमुख पवनकुमार लामाले विद्यालय नर्स कार्यक्रम लागू नभएको विद्यालयमा पनि नजिकैको स्वास्थ्य संस्थाबाट सेवा दिइरहेको जानकारी दिदै बालमैत्री स्थानीय शासनको सूचक पुरा गर्न स्वास्थ्य क्षेत्र लागि रहेको बताए ।
नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुुनुवारले बालबालिकालाई आफ्ना सबालबारे प्रत्यक्ष जिज्ञासा राख्न प्रत्येक बर्ष यस्ता कार्यक्रम गर्ने गरिएको बताइन् ।

सहभागीहरुले बालबालिकाको अधिकार र सूचनाको हक प्राप्तीको लागि पनि यस्ता कार्यक्रम उपयोगी भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस