नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गर्दै सदस्यता वितरण गर्ने

नौलो समाचार संवाददाता
२०८३ अषाढ २५, बिहिबार मा प्रकाशित २७७ पटक पढिएको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गर्दै सदस्यता वितरण गर्ने

बनेपा /नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गर्दै क्रियाशील सदस्यता वितरण गर्ने अभियान थालेको छ ।

केन्द्रीय परिपत्र अनुसार जिल्लाले १३५ वटै वडामा नयाँ क्रियाशील सदस्यता वितरण गर्न युवा, विद्यार्थी, महिला र दलित समुदाय लक्षित विशेष योजना अघि सारेको हो । आगामी साउन ३ गतेसम्म क्रियाशील सदस्यता लिने समयावधि तोकिएको छ।

बिहीबार जिल्ला कार्यसमितिको कार्यालय बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय प्रतिनिधिहरू समेतको उपस्थितिमा अभियानको अभिमुखीकरण गरियो । जिल्ला सभापति एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले १३५ वटै वडामा पुगेर नवयुवाहरुलाई कांग्रेसमा समेट्न अभियान चलाइने बताए । उनका अनुसार, १३ वटै पालिकामा केन्द्रले प्रतिनिधिसमेत खटाएको छ।

नेपाली कांग्रेसले बनेपामा जिल्ला सहसचिव समीर व्याञ्जु, पनौतीमा महाधिवेशन प्रतिनिधि शान्ति लामा, मण्डनदेउपुरमा जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरी, पाँचखालमा जिल्ला सदस्य रामहरि सापकोटा, नमोबुद्धमा जिल्ला सहसचिव रवीन्द्र सिग्देल, धुलिखेलमा जिल्ला सदस्य राम जोशीलाई जिम्मेवारी तोकेको छ। त्यस्तै चौरीदेउरालीमा नेता अच्युत पौडेल, भुम्लुमा नेता सुन्दरमणि आचार्य, रोशिमा महाधिवेशन प्रतिनिधि ईश्वरी ओझा, महाभारतमा जिल्ला सचिव गुणराज मुक्तान, खानीखोलामा जिल्ला सचिव माधव ढकाल, तेमालमा जिल्ला प्रवक्ता सन्तमान तामाङ र बेथानचोकमा महाधिवेशन प्रतिनिधि मिरा नेपाली लाई प्रतिनिधि खटाएको छ । प्रतिनिधिले ती पालिकाका सभापति, वडा सभापति, टोल सभापतिका साथै विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरूसँग समन्वय गरेर नवयुवाहरूलाई कांग्रेसको क्रियाशील सदस्यता वितरण गर्ने र अध्यावधिक गर्ने नगर्ने नेता, नेता कार्यकर्ताहरूको सूची जिल्ला र केन्द्रलाई जानकारी गराउनेछन् ।

अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रतिमा गौतमले नयाँ पुस्तालाई पार्टीको नीति र पद्धतिमा जोड्नुपर्ने आवश्यकता महसुस गरेर नै अभियान थालिएको बताइन्। नयाँ पुस्तासँग पार्टीको केही दुरी रहेको स्वीकार्दै उनले तल्लो तह र लक्षित समूहसँग पुगेर अभियान सञ्चालन गर्न अनुरोध गरिन्। पार्टी सभापति गगन थापा र नेताहरूले अत्याधिक लचकता अपनाउँदा पनि केही साथीहरू पार्टीमा अलमल सृजना गर्न उद्दत रहेको भन्दै उनले सबैलाई समेट्न र अभियानमा जोडिन आग्रह । सदस्यता अध्यावधिक नितान्त प्राविधिक विषय भएको भन्दै उनले लाइसेन्स भएपनि नवीकरण गरेन भने सवारी साधन चलाउन नपाउने उदाहरण प्रस्तुत गरिन् ।

काभ्रेपलाञ्चोकका लागि केन्द्रीय प्रतिनिधि रहेका कांग्रेस केन्द्रीय सदस्य शिव सुनारले हाल कायम रहेको क्रियाशील सदस्यतामा युवाहरूको प्रतिनिधित्व कम रहेको महसुस गरेर कांग्रेसले ३५ वर्ष मुनिका युवालाई पार्टीमा समेट्न खोजेको बताए। प्रविधि मार्फत क्रियाशील सदस्य जोड्न अध्यावधिक अभियान थालिएको भन्दै उनले अभियानमा खटिने प्रतिनिधिले अध्यावधिक गर्ने र नगर्ने सबैको विवरण केन्द्रलाई जानकारी गराउने बताए । दलित प्रतिनिधित्व को हिसाबले नेपाली कांग्रेस अन्य दलभन्दा समावेशी भएको तर्क गर्दै सुनारले समुदायका बढीभन्दा बढी मानिसलाई कांग्रेसमा समेट्नुपर्ने बताए ।

काभ्रेपलाञ्चोकमा खटिएकी नेपाल महिला सङ्घका केन्द्रीय सदस्य विनिता अधिकारीले प्रत्येक वडामा कम्तिमा २० जना महिलालाई नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने र १३वटै पालिकाका सबै वडामा अभियान चलाइने बताइन्। नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि प्रेमबहादुर शाहीले अध्ययन पेसा रोजगारी लगायतका कारणबाट उपत्यका र विदेशमा समेत रहेका युवाहरुलाई कांग्रेसमा जोड्न अभियान मार्फत काम गरिने बताए । नेपाल दलित संघका केन्द्रीय प्रतिनिधि जीवन मंग्रातीले दलित समुदायका बढीभन्दा बढी व्यक्तिहरूलाई कांग्रेस बनाउने अभियान चलाउनुपर्नेमा जोड दिए।

काङ्ग्रेस जिल्ला सभापति तिर्थ लामाले काभ्रेपलाञ्चोक जिल्लामा उत्साहजनक रुपमा सदस्यता अध्यावधिक भएको भन्दै उनले अभियानले यसलाई थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। पार्टी संगठनलाई पुरानै लयमा फर्काउन नेपाली कांग्रेस काभ्रे सक्षम भएको तर्क गर्दै उनले सबैको साथ र सहयोगको अपेक्षा गरे।

नेता अच्युतप्रसाद पौडेलले ६० प्रतिशतभन्दा बढी क्रियाशील सदस्यहरू अध्यावधिक भइसकेको जानकारी दिँदै अध्यावधिक रोक्न विभिन्न नेताहरुले बैठक भेला र निर्देशन गरेको पाइए पनि कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गरे ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामाका अनुसार सो निर्वाचन क्षेत्रमा ६४६१ जनाको सदस्यता अध्यावधिक भइसकेको छ भने ७२६ जनाको नयाँ आवेदन प्राप्त भएकोमा स्वीकृतिका लागि केन्द्रमा पठाइसकेको छ। क्षेत्र नम्बर २ मा ५८७४ जनाको अध्यावधिक भइसकेको छ भने स्वीकृतिका लागि २०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।






प्रतिक्रिया दिनुहोस