बनेपा / नेपाल परिवार नियोजन संघ काभ्रेपलाञ्चोकको ४४औँ शाखा सभाले पुनम जोशीको नेतृत्वमा सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
आइतबार सम्पन्न शाखा सभाले जोशीको नेतृत्वमा ११ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । तीन वर्षे कार्यकालका लागि कोषाध्यक्षमा विकास बैद्य, महिला सदस्यमा अंगना बैद्य श्रेष्ठ र रजनी बैद्य, विज्ञ सदस्यमा अनु श्रेष्ठ, रुपा कर्माचार्य प्रधान, ओमकाजी प्रजापती र निराकार श्रेष्ठ तथा युवा सदस्यमा न्हुज प्रजापती, रिजा शिल्पकार र रितु श्रेष्ठ चयन भएका छन् ।
शाखा सभा उद्घाटन गर्दै बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेले स्रोत अभाव झेलिरहेको परिवार नियोजन संघ काभ्रेपलाञ्चोक शाखाका विभिन्न गतिविधि सञ्चालन गर्न प्रदेश सरकारले योजना र कार्यक्रम दिने बताए ।
सन् २०२५ मा ४५ हजार ७ सय ४५ जनालाई यौन तथा प्रजनन् स्वास्थ्यका विविध सेवा प्रदान गरेको वरिष्ठ शाखा प्रबन्धक रमेश श्रेष्ठले जानकारी दिए । संघले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार पैरवी गर्ने, यौनिकताका विषयमा पैरवीका लागि काभ्रेपलाञ्चोकका विद्यालयहरुमा अध्ययन गर्ने यूवा तथा किशोर किशोरीहरुलाई वृहत यौनिकता शिक्षा सम्बन्धी कक्षाहरु संचालन गर्ने, युवा तथा किशोर किशोरीहरुलाई यौन तथा यौनिकतावारे सकरात्मक धारणाको विकास गर्ने, यूवा तथा किशोर किशोरीहरुको यौन अधिकारका बारे सुसूचित गर्ने कार्य गर्दै आइरहेको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहेका नेपाल परिवार नियोजन संघ काभ्रेपलाञ्चोकका पूर्व अध्यक्ष सुरकृष्ण बैद्य, देवेन्द्रप्रसाद भैल, अध्यक्ष प्रकाश कायस्थ, नवनिर्वाचित अध्यक्ष पुनम जोशी लगायतले स्रोत, बजेट र कार्यक्रम ब्यवस्थापन गरेर संघका गतिविधि अघि बढाउन सरोकारवालाको सहयोगको अपेक्षा गरे ।





प्रतिक्रिया दिनुहोस