काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय समितिमा काभ्रेका ६ जना चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ ।
काभ्रेबाट उपसभापति पदमा मधु आचार्यले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका पूर्व सभापति उनी हाल केन्द्रीय सदस्य छन् ।
कांग्रेस जिल्ला सभापति तीर्थ लामा केन्द्रीय सदस्य पदमा आदिवासी जनजातितर्फबाट उम्मेद्वार छन् । काभ्रेपलाञ्चोक जिल्ला सभापतिको रूपमा संगठन निर्माणमा गरेको योगदान, संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका र बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा जनताको सेवामा समर्पित अनुभवलाई साक्षी राख्दै नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताए । आफ्नो राजनीतिक यात्रा, संगठनमा निर्वाह गरेको जिम्मेवारी र सार्वजनिक सेवाको अनुभवलाई मूल्याकंन गरी केन्द्रीय सदस्यको रुपमा सेवा गर्ने अवसर प्रदान गर्न सबै महाधिवेशन प्रतिनिधीलाई आग्रह समेत गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य रहेका गणेश लामा केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवार बनेका छन् । काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ का निवर्तमान सभापति महेश खरेल केन्द्रीय सदस्य पदका उम्मेदवार छन् । खरेलले केन्द्रीय सदस्य खुलातर्फबाट उम्मेदवारी दिएका छन् । काभ्रेबाटै अपांगता तर्फ निर्मला श्रेष्ठले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी छन् । पूर्व जिल्ला सदस्य निर्मला १३ औं र १४ औं महाधिबेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।
नेपाल दलित संघ काभ्रेपलाञ्चोकका उस्पार सुनार ३५ वर्षमुनिका युवातर्फ सातवटै प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्य पदका उम्मेदवार छन् । उस्पार १३ औं र १४ औं महाधिबेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम सूचीअनुसार महाधिवेशनमा ५८ पदका लागि ८११ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।





प्रतिक्रिया दिनुहोस