काभ्रे कांग्रेस सभापति तीर्थ लामा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य उम्मेदवार

नौलो समाचार संवाददाता
२०८३ आश्विन २०, मंगलबार मा प्रकाशित २३ पटक पढिएको

काभ्रे कांग्रेस सभापति तीर्थ लामा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति, संविधान सभा सदस्य, पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधी, जनसम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, काभ्रेपलाञ्चोक जिल्ला कार्यसमिति, दुबै क्षेत्रका महाधिवेशन प्रतिनिधी, क्षेत्रीय सभापति, प्रदेश सभापति, पालिका सभापतिसहितका नेता कार्यकर्ताको समर्थन र उपस्थितीमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

 

काभ्रेपलाञ्चोक जिल्ला सभापतिको रूपमा संगठन निर्माणमा गरेको योगदान, संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका र बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा जनताको सेवामा समर्पित अनुभवलाई साक्षी राख्दै नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताए । आफ्नो राजनीतिक यात्रा, संगठनमा निर्वाह गरेको जिम्मेवारी र सार्वजनिक सेवाको अनुभवलाई मूल्याकंन गरी केन्द्रीय सदस्यको रुपमा सेवा गर्ने अवसर प्रदान गर्न सबै महाधिवेशन प्रतिनिधीलाई आग्रह समेत गरेका छन् ।

को हुन् तीर्थ लामा ?
२०३० साल असार ९ गते काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ६ (साविक सिपाली चिलाउने गाविस वडा नं. १) मा निम्न मध्यमवर्गीय र राजनीतिक पारिवारिक पृष्ठभूमिमा जन्मिएका लामाले स्नातक तहसम्म अध्ययन गरेका छन् । पेशाले निर्माण व्यवसायी रहेका उनले व्यवसायका साथै शिक्षा, स्वास्थ्य लगायतका सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

वि.सं. २०६४ मा नेपाली कांग्रेसको क्षेत्रीय उपसभापतिको रूपमा सांगठनिक जिम्मेवारी सम्हालेका लामा १२ औँ र १३ औँ महाधिवेशनमा लगातार दुई कार्यकाल क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरेका थिए । २०६८ देखि २०७१ सम्म नेपाल तामाङ संघको केन्द्रीय सदस्यसमेत थिए। पार्टीको १४ औँ महाधिवेशनबाट नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको सभापति निर्वाचित भएका थिए ।
वि.सं. २०७० को संविधान सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट निर्वाचित भई लामाले संविधान सभा सदस्यको रूपमा योगदान गरेका छन् । संविधान सभा सदस्य रहँदा उनले नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यका रूपमा काम गरे । वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका प्रत्यासी भए । लामा वि.सं. २०७९ को प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भए ।


प्रदेश सभा सदस्य बनेपछि उनले वि.सं. २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए । संविधान सभा मार्फत नेपालको नयाँ संविधान निर्माणमा प्रत्यक्ष योगदान पु¥याएका छन् । काभ्रे जिल्लामा नेपाली कांग्रेसको संगठन सुदृढीकरण तथा परिचालनमा निरन्तर सक्रिय रहँदै आएका उनले जिल्लाको भौतिक पूर्वाधार विकास—जस्तै सडक, खानेपानी, विद्युत, स्वास्थ्य तथा विद्यालय भवन निर्माणका लागि उल्लेख्य बजेट व्यवस्थापन र विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।






प्रतिक्रिया दिनुहोस


↑