काठमाडौं/ नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आदिवासी जनजाति (खुला) क्लस्टरतर्फको केन्द्रीय सदस्य पदमा काभ्रेपलाञ्चोक जिल्ला सभापति तीर्थ लामा सर्वाधिक मतका साथ विजयी भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार, संविधानसभा सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री एवं वर्तमान प्रदेश सभा सदस्य समेत रहेका लामाले ४ हजार ८ सय ५३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीहरूविच निकै फराकिलो मतान्तरले केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
आदिवासी जनजाति (खुला) तर्फका १२ जना केन्द्रीय सदस्यका लागि ४१ जना प्रतिस्पर्धामा थिए ।
लामालाई पछ्याउँदै ई. अनुप श्रेष्ठ २ हजार ७ सय ९१ मतका साथ दोस्रो स्थानमा र डा. प्रेमध्वज लामा २ हजार ७ सय ४७ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन् । चौथो स्थानका कर्मा छिरिङ शेर्पाले २ हजार ५ सय ९४ र पाँचौँ स्थानका टेक प्रसाद गुरुङले २ हजार २ सय ८० मत प्राप्त गरेका छन् । त्यसैगरी, भिम श्रीस मगर २ हजार २ सय ९ मत ल्याएर छैटौँ स्थानमा, रामकृष्ण चित्रकार २ हजार १ सय ६२ मतका साथ सातौँ स्थानमा र बुद्ध लामा २ हजार ७९ मत प्राप्त गरी आठौँ स्थानमा निर्वाचित भएका छन् । नवौँ स्थानमा गेल्जे लामा (शेर्पा)ले १ हजार ९ सय ५१ मत प्राप्त गर्दा दशौँ स्थानका वंशलाल तामाङले १ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । अमृत गुरुङ १ हजार ८ सय ३९ मतका साथ एघारौँ स्थानमा र सुशील गुरुङ १ हजार ७ सय ९८ मत प्राप्त गरी बाह्रौँ स्थानमा निर्वाचित भएका छन् ।

२०६४ सालमा नेपाली कांग्रेसको क्षेत्रीय उपसभापतिको रूपमा सांगठनिक जिम्मेवारी सम्हालेका लामा १२ औँ र १३ औँ महाधिवेशनमा लगातार दुई कार्यकाल क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरेका थिए । २०६८ देखि २०७१ सम्म नेपाल तामाङ संघको केन्द्रीय सदस्य समेत थिए । पार्टीको १४ औँ महाधिवेशनबाट नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको सभापति निर्वाचित भएका थिए ।
वि.सं. २०७० को संविधान सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट निर्वाचित भई लामाले संविधान सभा सदस्यको रूपमा योगदान पु¥याएका छन् । संविधान सभा सदस्य रहँदा उनले नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यका रूपमा काम गरेका थिए । वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका प्रत्यासी भए । लामा वि.सं. २०७९ को प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
प्रदेश सभा सदस्य बनेपछि उनले वि.सं. २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए ।





प्रतिक्रिया दिनुहोस