काेराेनाकाे सङ्क्रमण राेक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध

नौलो समाचार संवाददाता
२०७६ फागुन २९, बिहिबार मा प्रकाशित ३८७ पटक पढिएको

काेराेनाकाे सङ्क्रमण राेक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध

फागुन २९, एजेन्सी । अमेरिकाले कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण फैलनबाट रोक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारदेखि ३० दिनसम्म लागु हुने गरी युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । यो कडा र अत्यावश्यक प्रतिबन्ध बेलायतमा भने लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन् ।

बेलायतमा चार सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३८ जनाको ज्यान गएको छ भने एक हजार तीन सय २२ जनामा सङ्क्रमण भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विश्वभरको दुस्मन भएको भन्दै यसलाई चाँडो नियन्त्रण गर्नुपर्नेमा जाेड दिएका छन् । नयाँ सङ्क्रमण रोक्नकै लागि युरोपसँगको यात्रामा प्रतिबन्ध लगाउनु परेको ट्रम्पले बताए ।

युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वेलगायतका देशमा कोरोनाको सङ्क्रमण तीव्र बनेको छ ।

साथै भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार एक महत्त्वपूर्ण बैठकमा कोरोना भाइरसकाे सङ्क्रमण राेक्नकाे लागि आउँदाे १५ अप्रिलसम्म सबै भिसा निलम्बित गर्ने फैसला गरेकाे छ ।

स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनकाे अध्यक्षतामा बसेकाे बैठकमा कोरोना भाइरसकाे सङ्क्रमण फैलन नदिन र बच्नका लागि विभिन्न उपायका बारेमा छलफल भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस