कोरोना भाइरसविरुद्धको खोपको सुरु भयो औपचारिक परीक्षण

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ५८० पटक पढिएको
कोरोना भाइरसविरुद्धको खोपको सुरु भयो औपचारिक परीक्षण

चैत ४, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपको मानवमा परीक्षण सुरु भएको छ । अमेरिकामा उत्पादन भएको खोपको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत स्वतस्फूर्त रुपमा परीक्षण डोज लिनका लागि तयार भएका व्यक्तिमा खोप दिन सुरु गरिएको सरकारी अधिकारीले बताएका छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले परीक्षणको व्यवस्था मिलाएको हो । सियाटलमा रहेको वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युडमा परीक्षण सुरु भएको हो । कुनै पनि सम्भावित खोपले पूर्ण स्वीकृति पाउनका लागि एक वर्षदेखि डेढ वर्ष लाग्ने स्वास्थ्य अधिकारीले बताएका छन्।

खोपको परीक्षणका लागि ४५ जना वयश्क स्वतस्फूर्त रुपमा तयार भएका छन् । बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेशनल इन्स्टिच्युड अफ हेल्थले संयुक्त रुपमा खोप उत्पादन गरेका हुन् । परीक्षणका लागि प्रदान गरिने खोपबाट व्यक्तिमा कुनै संक्रमण हुने सम्भावना नरहेको स्पष्ट पारिएको छ ।

खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने हेर्नका लागि प्रारम्भिक परीक्षण थालिएको र यसले बिस्तारित स्तरमा परीक्षणका लागि मार्ग प्रशस्त गर्ने जनाइएको छ । खोपमा कोरोना भाइरसको कुनै पनि अंश नरहेको जनाइएको छ ।

परीक्षण सुरु गरिएको खोपमा भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउन सहयोग गर्ने अनुसन्धानकर्ताले बताएका छन् । अहिले परीक्षण गर्न लागिएको खोपको नाम एमआरएनए–१२७३ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस