कुलमानको आग्रह : ग्यासको लाइनमा नबस्नुहोस, बिजुली प्रयोग गर्नुहोस्

नौलो समाचार संवाददाता
२०७६ चैत्र ४, मंगलबार मा प्रकाशित ५४३ पटक पढिएको

कुलमानको आग्रह : ग्यासको लाइनमा नबस्नुहोस, बिजुली प्रयोग गर्नुहोस्

चैत ४, काठमाडौँ । कोरोना भाइरस नेपाल भित्रने डरले अहिले नागरिकले अत्यावश्यक वस्तुको भण्डारण गरिरहेका छन् । खासगरी ग्यास, दाल, चामल, नुनतेल लगायतका वस्तुको भण्डारण गर्दा बजारमा अभाव पनि देखिएको छ ।

सामान्य अवस्थामा भन्दा धेरै परिमाणमा ग्यास आयात भैइरहे पनि बजारमा ग्यास पाइन छाडेको छ । नागरिकले घर घरमा सिलिन्डर थुपारिरहेका छन् । मासिक ४३ हजार टन ग्यास खपत हुने गरेकोमा अहिले निगमले मासिक ४५ हजार टन ग्यास आयात गर्दा पनि बजारमा अभाव देखिएको छ । आयल निगम र ग्यास उद्योग संघले ग्यास नथुपार्न आग्रह गरेपनि उपभोक्ता भने ग्यासको लाइनबाट पछि हटेका छैनन् ।

ग्यास सहज रुपमा उपलब्ध हुने र यसको विकल्प पनि रहेको सरकारले जनाएको छ । खासगरी नाकाबन्दीका बेला ग्यासको अभाव रहेको र बिजुली पनि अनियमित भएको सम्झेर उपभोक्ता आत्तिएको तर अहिले ग्यास नभए पनि बिजुली नियमित भैरहेकाले नआत्तिन नेपाल विद्युत प्राधिकरणले आग्रह गरेको छ ।

ग्यासको लाइनमा नबस्नुस्, बिजुली उपयोग गर्नुहोस: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासको लाइनमा नबस्न उपभोक्तलाई आग्रह गरेका छन् । उहाँले विद्युतीय चुल्हो र अन्य उपकरणमार्फत खाना पकाउन पनि आग्रह गरेका छन् । अहिलेको अवस्थामा ग्यास आयात ठप्प नै भएपनि प्राधिकरणले नियमित बिजुली दिन सक्षम रहेको पनि दावी गरे ।

उपभोक्ताले इन्डक्सन चुल्हो र अन्य विद्युतीय उपकरण बढाएमा प्राधिकरणलाई थप हौसला मिल्ने पनि घिसिङले बताए ।

प्राधिकरणले ट्रान्सफर्मर, प्रसारणलाइन लगायतका संरचना मर्मत र विस्तार गरेकाले बिजुली अनियमित हुने सम्भावना नरहेको पनि दावी गरे ।

अहिले बिजुलीको माग अधिकतम १३ सय मेगावाटसम्म पुगेको छ । प्राधिकरणले अत्याधिक माग हुने समय अर्थात पिक आवरमा भारतबाट ३ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस