आज साँझदेखि विदेशबाट नेपाल आउन बन्द, नेपालीलाई स्वदेश फर्कन नदिने सरकारको निर्णय

नौलो समाचार संवाददाता
२०७६ चैत्र ७, शुक्रबार मा प्रकाशित ५७० पटक पढिएको
आज साँझदेखि विदेशबाट नेपाल आउन बन्द, नेपालीलाई स्वदेश फर्कन नदिने सरकारको निर्णय

चैत ७, काठमाडौँ । सरकारले कोभिड( १९ संक्रमण बाट बच्न विदेशमा रहेका नेपालीलाई आज शुक्रबारदेखि आगामी २५ दिन स्वदेश फर्कन नदिने आफ्नो निर्णयको विरोध भएपनि त्यसबाट पछि नहट्ने अडान दोहोर्‍याएको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार रातीबाट युरोप, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, टर्की, मलेसिया, जापान लगायत ५० वटा मुलुकबाट आउने र ती मुलकुबाट ट्रान्जिट भएर आउने नेपालीलाई स्वदेश फर्कन नदिने भन्दै गरेको निर्णयबाट पछि नहट्ने सरकारले बताएको छ।

सरकारका उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले नेपालीकै जीवन सुरक्षाका लागि यस्तो कठोर निर्णय गर्न सरकार बाध्य भएको र त्यो निर्णयको विरोध भयो भन्दैमा फिर्ता नलिने बताए।

उनले भने,‘ संक्रमण नियन्त्रणको पहिलो दायीत्व सरकारको हो । सरकारलाई नागरिकले साथ दिएनन् भने उ एक्लैले यस्तो कठिन काम गर्न सक्दैन। विदेशमा नेपाली अड्काउन हामी बाध्य भएपनि उनीहरुको अवस्थाबारे हामी चनाखो छौँ । उनीहरुको स्वास्थ्य सेवा र सुरक्षाबारे पनि हामीले सम्बन्धीत मुलुकसँग समन्वय गरेका छौँ।’

मन्त्री पोखरेलले मुलुकमा आइपरेको संकटबाट सबै नेपाली जोगाउनु पर्छ भन्ने आफूहरुको उद्देश्य भएको बताए। सरकारको यो निर्णयबाट कामका लागि विदेश गएका तर भिसाको म्याद सकिन लागेका र खर्च सकिएका नेपालीलाई सबैभन्दा ठूलो मर्का परेको गुनासो बढ्दै गएको छ।

तर सरकारले आगामी एक महिना दुःख गरेर भएपनि आफूलाई विदेशमा सुरक्षित राख्न उनीहरुलाई आग्रह गर्दै आएको हो।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव एवं उच्चस्तरीय समन्वय समितिका सदस्य नारायणप्रसाद बिडारीले आफू भएकै देशमा उपचार गरेर वा सुरक्षित रहेर नेपाली फर्किनुको विकल्प नभएको बताए।

उनले भने,‘ संक्रमण घट्दै गए सरकारले तोेकेको मिति घटाउन पनि सक्छ । तर अहिले विदेशमा बस्नुहुने नेपाली आफू जोगिनुको विकल्प छैन। अरु मुलुकले पनि यस्तै निर्णय गरेर धमाधम कार्यान्वयन गरेका छन्। त्यो नेपालीले पनि बुझिदिनुपर्छ।’
तर विदेशमा बस्ने नेपालीले आफ्ना जनतालाई रकारले नेपाल एयरलान्स पठाएर भएपनि बचाउनु पर्ने माग विदेशमा कार्यरत नेपालीबाट उठ्न थालेको छ।

खासगरी उनीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षा र अवस्थामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। तर कतिपय विदेशमा बस्ने नेपालीले भने यतिबेला सरकारको निर्णयलाई साथ दिनु पर्ने तर्क प्रस्तुत गरिरहेका छन्।

उच्चस्तरीय समन्वय समितिले कोभिड (१९ को संक्रमणलाई ध्यान र्दिँदै ५० भन्दा बढी मुलुकमा रहेका नेपालीलाई शुक्रबार रातीदेखि लागू हुने गरी नेपाल आउन निषेध गर्ने निर्णय गरेको थियो।

भारतबाट आउने नेपालीको आगमनका सम्बन्धमा हालसम्म त्यस्तो निर्णय लिइएको छैन।

तर सरकारले संक्रमणबाट जोगिन अत्यावश्वक सामाग्री बाहेक भारततर्फका सीमा ‘सिल’ गर्ने प्रस्ताव भारतलाई पठाइसकेको भएपनि भारतले त्यसबारे कुनै जवाफ फर्काएको छैन।

प्रतिक्रिया दिनुहोस