संकटका बेला एयरलाइन्स कम्पनीहरुको ब्रम्हलुट, तेब्बरसम्म भाडा बृद्धि

नौलो समाचार संवाददाता
२०७६ चैत्र ८, शनिबार मा प्रकाशित ५९३ पटक पढिएको
संकटका बेला एयरलाइन्स कम्पनीहरुको ब्रम्हलुट, तेब्बरसम्म भाडा बृद्धि

चैत ८, काठमाण्डौ । मुलक कोरोना भयको त्रासबाट गुज्रिरहेका बेला एयरलाइन्स कम्पनीहरुले हवाई भाडादरमा ब्रम्हलुट मच्चाएका छन्। विपतको मौका छोपी हवाई भाडादरमा दोब्बरदेखि तेब्बरसम्म बृद्धि गरिएपछि यात्रुहरुको ढाड सेकिएको छ।

सरकारले गत बुधबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो। त्यो सँगै शुक्रबार लामो दूरीका बस सेवा बन्द गर्ने निर्णय सरकारले गरेपछि यात्राका लागि हवाई मार्गको प्रयोग गर्नु एक मात्र विकल्प खडा भएको छ।

यही मौकामा एयर लाइन्स कम्पनीहरुले ‘कुनाफा’ कमाउने अभियान नै थालेका छन्। काठमाडौँदेखि धनगढीसम्मको नियमित हवाई भाडादर औसतमा पाँच हजार रुपैयाँ हो। यो भाडादर कुनै बेला घटेर ४ हजार सम्म पुग्ने गरेको हुन्छ भने कुनै बेला बढेर ६ हजारसम्म पुग्ने गरेको छ।

तर सरकारले कोरोना भाइरसको महामारीसँग जुध्न गत बुधबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको भोलिपल्टै एयरलाइन्स कम्पनीहरुले काठमाडौँ धनगढी हवाई भाडादार १२ हजार पाँच सय पुर्‍याएको अनलाइन टिकेट बिक्रेता डिल्लीराज ओझाले बताए ।

‘दसैँ तिहारमा पनि एयर लाइन्स कम्पनीहरुको यस्तै रबैया हुन्छ, अहिले विपदका बेला पनि यात्रुहरुको ढाड सेक्ने काम भइरहेको छ’, उनले भने, ‘१२ हजार पाँच सयको टिकट पनि सजिलै उपलब्ध छैन ।’

काठमाडौँमा बस्दै आएका गायक दीपक जोशीले धनगढी जानका लागि १२ हजार पाँच सयको टिकट पनि नपाएको बताए ।

‘सुरुमा फोन गर्दा ५ हजार ९ सयको टिकट छ भनियो, एकछिनमा कन्फर्म गरेर फोन गर्दा १२ हजार पाँच सयको मात्रै छ रे’, उनले भने, ‘एयरलाइन्स कम्पनीहरुले गरिरहेको यो प्रत्यक्ष कालोबजारी रोक्न सरकारले ध्यान दिनुपर्‍यो ।’

उनले यात्रुको चाप हुने हरेक समयमा हवाई भाडादरले आकाश छुने गरेको बताए ।

‘मान्छेको चाप नहुँदा ३५ सयमा पनि काठमाडौँ धनगढी उडान भर्ने कम्पनीहरुले चाप हुँदा ब्रम्हलुट मच्चाइरहेका छन्, विपत्तिको बेला लुट मच्चाउनु भनेको सरासर प्रत्यक्ष कालाबजारी हो, उनले भने, ‘त्यतातिर पनि सरकारको आँखा पुगोस् ।’

एयरलाइन्स कम्पनीहरुले काठमाडौँबाट बाहिरिने हरेक उडानमा तेब्बरसम्म भाडा बृद्धि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस