मेडिकल सामग्री भ्रष्टाचारले देशकै बदनाम भयो: देउवा

नौलो समाचार संवाददाता
२०७६ चैत्र २१, शुक्रबार मा प्रकाशित ४४१ पटक पढिएको
मेडिकल सामग्री भ्रष्टाचारले देशकै बदनाम भयो: देउवा
फाइल तस्विर

चैत २१, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन ढिलाई गरिएकोमा आपत्ति जनाएका छन् ।

उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई कारबाही गर्नुको साटो घटनाको ढाकछोप गर्ने प्रयास भइरहेको उल्लेख गरेका छन्।

आज (शुक्रबार) एक वक्तव्य जारी गर्दै देउवाले मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइ रहेकोे एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको जनाएका छन् ।

उनले अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पु¥याउने कार्य गरेको उल्लेख गरेका छन् ।

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य नरहेको देउवाले बताएका छन् ।

‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कार्वाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु’, देउवाले भनेका छन् ।

उनले लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक रहेको बताएका छन् ।

‘अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ’, देउवाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यस्तै सभापति देउवाले लक डाउनको प्रतिकूल अवस्थाका बावजुद संचार माध्यमहरुले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएका उल्लेख गर्दै यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद रहेको बताएका छन् ।

‘काठमाडौँ प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक छ । यसमा जो दोषी छन् तिनलाई कार्वाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु’, देउवाले भनेका छन् ।

उनले नपाली कांग्रेस सबै खाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने तर आजको संकटसंग जुध्न निरन्तर सरकारको साथमा रहने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस