बाघमा पनि देखियो पहिलोपटक कोरोना भाइरसको संक्रमण, सिंहमा पनि लक्षण

नौलो समाचार संवाददाता
२०७६ चैत्र २४, सोमबार मा प्रकाशित ४७६ पटक पढिएको
बाघमा पनि देखियो पहिलोपटक कोरोना भाइरसको संक्रमण, सिंहमा पनि लक्षण

चैत २४, एजेन्सी । बाघमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोंक्स जू (चिडियाखाना) चार वर्षकी बघिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

आयोवास्थित नेशनल भेटेरिनरी सर्भिसेज ल्याबोरेटरीले चार वर्षकी मलायन टाइगरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

नाडिया नाम गरेकी बघिनीलाई केही दिनदेखि सुक्खा खोकी लागेको थियो।

त्यसपछि शंका लागेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । नाडियाकी बहिनी अजुल र अरु दुई बाघ तथा तीनवटा अफ्रिकन सिंहमा पनि लक्षण देखिएको छ ।

सबैलाई निको हुने अपेक्षा गरिएको नेशनल भेटेरिनरी सर्भिसेज ल्याबोरेटरीले जनाएको छ । चिडियाघरका हेरालुबाट उनीहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान छ ।

संक्रमण देखिए पनि अधिकांश रुपमा बघिनी स्वस्थ रहेको चिडियाखानाले जनाएको छ । बाघमा संक्रमण पुष्टि भएसँगै सबै जनावरलाई नियाली रहेको चिडियाखानाले जनाएको छ ।

संरक्षणविदले कोरोना भाइरसको वर्तमान महामारीको प्रभाव केही जंगली जनावरमा पनि पर्न सक्ने बताएका छन् । विशेषगरी गुरिल्ला र चिम्पाञ्जीहरु जोखिममा रहेको संरक्षणविदको भनाई छ ।

प्रतिक्रिया दिनुहोस