जागिर छाडेर विदेशबाट गाउँ फर्किएका अनुपलाई रोटरीको ‘उदयमान उद्यमी सम्मान’

नौलो समाचार संवाददाता
२०८३ श्रावण २०, बुधबार मा प्रकाशित ३३ पटक पढिएको

जागिर छाडेर विदेशबाट गाउँ फर्किएका अनुपलाई रोटरीको ‘उदयमान उद्यमी सम्मान’

काठमाडौं / कतार एयरवेजको जागिर छाडेर गाउँ फर्किएर कृषि र ग्रामीण पर्यटनमा सक्रिय नमोबुद्ध नगरपालिका वडा नं १० का अनुप पाठकलाई रोटरी क्लब अफ काठमाडौं हाइटले ‘उदयमान उद्यमी सम्मान २०२६’ प्रदान गरेको छ ।

रोटरी क्लब अफ काठमाडौं हाइटको सातौं चार्टर डे तथा पदस्थापन समारोहमा पाठकलाई ‘इमर्जिङ इन्टरप्रेन्योर अवार्ड’ प्रदान गरिएको हो ।

युवा तथा उदीयमान उद्यमीलाई उनीहरूको नवीन सोच, सिर्जनशीलता, व्यावसायिक पहल र समुदायमा पारिरहेको प्रभावका आधारमा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको क्लबले जनाएको छ । २५ हजार नगदसहित रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर विष्णुबहादुर कार्कीले उनलाई सम्मान गरेका हुन् ।

पाठकले करिब पाँच वर्षअघि कतार एयरवेजको आकर्षक रोजगारी छाडेर आफ्नै गाउँमा उपलब्ध कृषि, प्रकृति, संस्कृति र स्थानीय स्रोतलाई पर्यटनसँग जोडेर बसेरी फार्मस्टे एण्ड रिट्रिट सञ्चालन गरिरहेका छन् । फार्मस्टेले स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना, स्थानीय संस्कृति संरक्षण र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित काम गरिरहेको छ ।

सम्मान ग्रहण गर्दै पाठकले सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा परिवार, गाउँ, स्थानीय समुदाय। बसेरी फार्मस्टे परिवार, साथीभाइ तथा शुभेच्छुकहरूको साझा सम्मानका रूपमा लिएको बताए । ‘विदेशमा राम्रो करिअर थियो। तर मेरो मन आफ्नै गाउँ र आफ्नै माटोमै थियो। नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ फर्किएको थिएँ। आजको सम्मानले खुसीभन्दा बढी जिम्मेवारी थपिदिएको छ ।’ उनले भने ।






प्रतिक्रिया दिनुहोस