एनसेलले बुझायो सम्पूर्ण पूँजीगत लाभकर

नौलो समाचार संवाददाता
२०७६ चैत्र ३०, आईतबार मा प्रकाशित १२६५ पटक पढिएको
एनसेलले बुझायो सम्पूर्ण पूँजीगत लाभकर

चैत ३०, काठमाडौं । निजी क्षेत्रको दुरसञ्‍चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने सम्पूर्ण पूँजीगत लाभकर बुझाएको छ । एनसेलले आज (आइतबार) ठूला करदाता कार्यालयले निर्धारण गरेको सबै पूँजीगत लाभकर एनसेलबाट प्राप्त भएको कार्यालयका प्रमुख झलक अधिकारीले बताए ।

एनसेलले आज १४ अर्ब ३३ करोड बुझाएको हो । यसअघि कम्पनीले गत पुष १५ गते ४ अर्ब ५० करोड, चैत १८ गते ४ अर्ब ६० करोड बुझाएको थियो । अधिकारीले भने, “एनसेलले सबै गरेर २३ अर्ब ४३ करोड बुझायो । २२ अर्ब ४४ करोड साँवा हो भने ९९ करोड २ लाख रुपैयाँ ब्याज हो ।”

कम्पनीले अग्रिम लाभकरबापत १५ प्रतिशत सुरुमै तिरे पनि थप १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने सर्वोच्च अदालतको फैसलापछि ठुला करदाता कार्यालयले निर्धारण गरेको पछिल्लो २२ अर्ब ४४ करोड पनि बुझाएको हो । कम्पनीले सुरुमा अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशत अर्थात २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो । योसँगै एनसेलले कुल ४५ अर्ब ४३ करोड रुपैयाँ सरकारलाई तिरेको छ । यससँगै लाभकरसँग सम्बन्धि सबै दायित्व एनसेलले सकाएको छ ।

एनसेलले सुरुमा अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो । बाँकीको १० प्रतिशत लाभकर कस्ले तिर्ने भन्ने विषयमा विवाद भएपछि सर्वोच्चले त्यसको किनारा लगाएको थियो ।

एनसेलले नेपाली बैंकहरुसँग ऋण लिएर लाभकर तिरेको हो । एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक र एभरेष्ट बैंकबाट ऋण दिएको हो ।

प्रतिक्रिया दिनुहोस