कोरोना भाइरसविरुद्धका तीन खोप मानवीय परीक्षणको चरणमा, ७० खोपमा काम हुँदै

नौलो समाचार संवाददाता
२०७७ बैशाख २, मंगलबार मा प्रकाशित ४९५ पटक पढिएको
कोरोना भाइरसविरुद्धका तीन खोप मानवीय परीक्षणको चरणमा, ७० खोपमा काम हुँदै

चैत २, एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप बनाउन विश्वभरका वैज्ञानिकहरु लागि परेको र अहिले सम्भावित ७० वटा खोपमा काम भइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका अनुसार त्यसमध्ये तीनवटा मानवीय परीक्षणको चरणमा रहेका छन् ।

सम्भावित खोपको सूचिमा अग्रस्थानमा रहेको बेइजिङ्ग इन्स्टिच्युड अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले निर्माण गरेको गरेको खोप अहिले दोस्रो चरणको परीक्षणमा छ ।

अरु दुई खोपहरु पनि अहिले मानवीय परीक्षणको क्रममा रहेका छन् । यी खोपहरु अमेरिकी औषधि उत्पादक कम्पनी इनोविओ र मोडेर्नाले निर्माण गरेका डब्लुएचओलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएको छ ।

छोटो अवधिमै विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख १९ हजार भन्दा बढीको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या विश्वभर २० लाख भन्दा बढी पुगेको छ ।

महामारी तीव्र गतिमा फैलिएका कारण औषधि उत्पादक कम्पनीहरु खोपको खोजीमा तीव्र गतिमै लागिपरेका हुन् । खोपहरु आउँदो वर्षको सुरुमा उपलब्ध हुने अपेक्षा छ ।

सामान्यतया कुनै पनि खोपले पूर्णता पाउन १० देखि १५ वर्ष लाग्ने भए पनि कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण गर्ने तयारी भइरहेको छ ।

मोडेर्नाले बनाएको खोपलाई गएको मार्चमा जनावरमा गर्नु पर्ने परीक्षणको प्रक्रियालाई थाँती राखेर मानवीय परीक्षणका लागि अमेरिकी नियामक निकायले स्वीकृति दिएको थियो ।

यस्तै फिजर र सानोफीसहितका कम्पनीले बनाएका खोपहरु पनि अहिले प्रिक्लिनिकल ट्रायलको चरणमा पुगेका छन्।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म उपलब्ध हुने दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस