सनसिटी संक्रमणको लहरो मन्त्रीदेखि प्रधानमन्त्रीसम्म

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३, बुधबार मा प्रकाशित १८१० पटक पढिएको
सनसिटी संक्रमणको लहरो मन्त्रीदेखि प्रधानमन्त्रीसम्म

बैशाख ३, काठमाडौँ । काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै उक्त संक्रमणको लहरो मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पनि पुगेको छ।

सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री युवराज खतिवडाका छोरा तिलक खतिवडा पनि परिवारसहित बस्दै आएका छन्। उनी सनसिटी अपार्टेन्टमा हालै भएको निर्वाचनमा सचिव पदमा उम्मेदबार बनेर विजयीसमेत भएका थिए। बेलायतबाट फर्केका संक्रमितहरुको परिवारसँग तिलकको पर्याप्त हेलमेल भएको स्थानीय बताउँछन्।

उक्त निर्वाचनमा कोभिड १९ संक्रमित व्यक्तिले पनि मतदान गरेको अपार्टमेन्टमा बसोबास गर्नेले बताएका छन्। अर्थमन्त्री खतिवडाका छोरा तिलक पनि संक्रमणको जोखिममा छन्। यसबीच तिलकले आफ्ना बुवा अर्थमन्त्री युवराज खतिवडासँग केही पटक भेटेको खतिवडा परिवारसँग निकट भएकाहरुले दाबी गरेका छन्।

यसरी संक्रमितको लहरो मन्त्री खतिवडा र उनी हुँदै अन्य मन्त्रीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पुगेको छ। मन्त्री खतिवडाले मन्त्रिपरिषद् बैठक तथा अन्य अवसरहरुमा धेरैपटक अन्य मन्त्री तथा प्रधानमन्त्रीलाई पनि भेटेका छन्।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री खतिवडाले यसबारे कुनै जानकारी सार्वजनिक गरेका छैनन्।

सनसिटी अपार्टमेन्टले स्थिति सहज पार्नका लागि प्रयास जारी रहेकाले नआत्तिन आग्रह गरेको छ।

प्रहरीले उक्त अपार्टमेन्टलाई सिल गरेको छ भने कसैलाई बाहिर आउन अनुमति दिइएको छैन। अपार्टमेन्टका अध्यक्ष तिलक बस्नेतले स्थिति सहजीकरणका लागि संयुक्त प्रयास जारी रहेकोले संयमित रहन आग्रह गरेका छन्।

आज (बुधबार) बिहान ९ बजेदेखि अपार्टमेन्टको ए टावरबाट र्‍यापिड टेष्ट हुने जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै उनले वर्तमान परिस्थितिलाई सहज बनाउन सबै सरोकारवाला निकायसँग निरन्तर समन्वयमा रहेको पनि जानकारी उनले दिएका छन्।

प्रतिक्रिया दिनुहोस