पार्टी विभाजन गर्न सजिलाे हुने गरि अध्यादेश जारी

नौलो समाचार संवाददाता
२०७७ बैशाख ८, सोमबार मा प्रकाशित ३३२ पटक पढिएको
पार्टी विभाजन गर्न सजिलाे हुने गरि अध्यादेश जारी

बैशाख ८, काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले अाज (सोमबार) दुईवटा अध्यादेश जारी गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७७ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अाज नै बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल त्यागसम्बन्धी प्रावधान खुकुलो बनाउने गरी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो । अब कुनैपनि राजनीतिक दलको केन्द्रिय कमिटी वा संघीय संसदको संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत सदस्यको समर्थन भए नयाँ दल दर्ता गर्न सकिने भएको छ ।

यसअघि संसदीय दल र केन्द्रिय समिति दुवैमा ४० प्रतिशत सदस्यको समर्थन बिनै दल विभाजन गरे मान्यता पाउँदैन थियो । नयाँ कानुनपछि दुईमध्ये एकमा कम्तिमा ४० प्रतिशत सदस्यको समर्थनमा नयाँ दल बनाए त्यसले मान्यता पाउनेछ ।

यस्तै स्रोतका अनुसार, संबैधानिक परिषदको काम कर्तव्य तथा अधिकारसम्बन्धी पहिलो संशोधन विधेयकमा परिषदको बैठकका लागि यसअघि अध्यक्ष सहित चार जना सदस्य हुनैपर्ने प्रावधान संशोधन गर्दै अध्यक्षसहित तीनजना मात्र सदस्य भएपनि बैठक बस्नसक्ने ब्यवस्था गरिएको छ ।

अाज बसेको मन्त्रिपरिषद बैठकले धेरैलाई आश्चर्यमा पार्दै दल त्याग सम्बन्धी ब्यवस्था खुकुलो बनाउने र सँवैधानिक परिषदको बैठकमा अध्यक्ष र तीनजना सदस्यलाई गणपुरक मान्ने ब्यवस्था सहितको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो ।

यो निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र आफूलाई पदमुक्त बनाउन खोजिए संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा ४० प्रतिशत समर्थन लिएर नयाँ दल खोल्न सक्ने गरी सजिलो बनाएको अर्थका रुपमा लिइएको छ  ।

प्रतिक्रिया दिनुहोस