रेडियो नेपालले हटायो अनलाइनबाट डा. भट्टराईको अन्तर्वार्ता, भट्टराईले के भनेेेका थिए अन्तर्वार्तामा ?

नौलो समाचार संवाददाता
२०७७ बैशाख १५, सोमबार मा प्रकाशित ११७९ पटक पढिएको
रेडियो नेपालले हटायो अनलाइनबाट डा. भट्टराईको अन्तर्वार्ता, भट्टराईले के भनेेेका थिए अन्तर्वार्तामा ?

बैशाख १५, काठमाडौं । रेडियो नेपालले डा. बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता अनलाइनबाट हटाएको छ।  रेडियो नेपालले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमायाचनासहित डा. बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता हटाएको जानकारी गराएको हो।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ रेडियो नेपालबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसंवाद अन्तर्गत सोमबार विहान ६:३० बजे समाचार प्रमुख डा. नवराज लम्सालद्वारा सञ्‍चालित उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्‍यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दु:खी तुल्याएको छ। सो कार्यक्रम लाइभ प्रसारण भएकाले आवश्‍यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौँ।’

यसका साथै रेडियो नेपालले अब उप्रान्त प्रसारण गर्ने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहेन समेत जनाएको छ।

रेडियो नेपालबाट दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसंवादमा सोमबार समाचार प्रमुख डा. नवराज लम्सालले चलाएका थिए। रेडियो नेपालले उक्त कार्यक्रम  अनलाइनबाट हटाएको छ।

बाबुराम भट्टराईले के भनेेेका थिए ?

अनलाइन http://radionepal.gov.np भित्र अडिओ ग्यालरीमा राखिएको अन्तरसंवादको आजको अंक रेडियो नेपालले हटाएको हो।

आज विहान अन्तरसंवादका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई अतिथि थिए। २८ मिनेट लामो उक्त कार्यक्रम समाचार महाशाखा प्रमुख नवराज लम्सालले सञ्चालन गरेका थिए।

भट्टराईले अन्तर्वार्तामा त्यस्तो के बोलेका थिए र हटाइयो भन्ने सेतोपाटीको प्रश्नमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अशिष्ट भाषा बोलेकोले आफूहरूलाई दुखीत तुल्याएको बताए।

‘उहाँले भष्मासुर, अपहरणकारी, हिटलर जस्ता शब्द प्रयोग गर्नुभएको थियो। सांसद अपहरण भन्ने कुरा पनि गर्नुभयो। यी कुराहरू प्रधानमन्त्रीज्यूलाई लक्षित थिए,’ कार्कीले थपे, ‘ती शब्दहरू रेडियो नेपालजस्तो संस्थाले प्रशारण गर्न हुँदैनथ्यो। लाइभ कार्यक्रम भएकोले प्रशारण भयो। सम्पादन गर्न सकिने कुरा भएन।’

जनतालाई रेडियो नेपालबाट अशिष्ट शब्द सुनाउन नहुने भएकोले आफूले विज्ञप्ति निकालेरै क्षमा मागेको पनि कार्कीले बताए।

‘कसैलाई लाञ्छना लगाउने खालका, अशिष्ट शब्द रेडियो नेपालले जनतालाई सुनाउनु त भएन,’ उनले भने, ‘प्रधानमन्त्रीलाई लक्षित गरेका भाषाले समस्या उत्पन्न भएकोले मैले क्षमा मागेको छु।’

भट्टराईले यस्ता शब्द यसअघि विभिन्न प्लेटफर्महरूमा प्रयोग गर्दै आएको आफूले सुने पनि त्यस्ता शब्द रेडियो नेपालबाट प्रशारण गर्न नमिल्ने पनि उनले बताए। कार्कीका अनुसार कार्यक्रम सञ्चालकले सोधेका प्रश्नभन्दा बाहिर गएर भट्टराईले जवाफ दिएका थिए।

‘हामीले सोधेका थियौं अर्कै कुरा, उहाँले जवाफ दिनुभयो अर्कै,’ उनले सेतोपाटीसँग भने। अन्तरसंवादको आजको अंक किन अनलाइनबाट हटाइएको भन्ने प्रश्नमा उनले आफूलाई त्यो जानकारी नभएकोले बुझ्नुपर्ने बताए।

‘अनलाइनबाट कसरी हट्यो त? म हेर्न लगाउँछु। हटेको रहेछ भने हाल्न लगाउँछु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस