कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्यामा कमी आउँदै

नौलो समाचार संवाददाता
२०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ४८६ पटक पढिएको
कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्यामा कमी आउँदै

बैशाख १६, काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेको संख्यामा बिस्तारै कमी हुँदै आएको छ । दैनिक ७ हजारभन्दा धेरै कोरोना संक्रमितको मृत्यु हुने गरेकोमा अहिले यो संख्या घटेर साढे ४ हजारमा आइपुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका कारण ४ हजार ५१६ को मृत्यु भएको छ । जसमध्ये अमेरिकामा १ हजार ३८३ ले ज्यान गुमाएका छन् । अमेरिकामा दैनिक साढे २ हजार भन्दा धेरैको ज्यान जाने गरेको थियो ।

कोरोनाको ईपी सेन्टर बनेको न्युयोर्कमा पनि मृत्युदर ठूलो संख्यामा कमी आएको छ । झण्डै हजारको छेउछाउ मृत्यु हुने गरेकोमा अहिले त्यो संख्या ३३७ सम्म ओर्लिएको छ ।

न्युयोर्कका गर्भनर एन्ड्रयू क्युमोका अनुसार उक्त सहरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा निरन्तर कमी आइरहेको छ ।

अमेरिका पछि कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएका इटली, स्पेन र फ्रान्समा पनि अघिल्ला दिनका तुलनामा मृत्यु दरमा कमी आएको छ । मृत्यु दरमा कमी आएसँगै ती देशले लकडाउनलाई केही खुकुलो गर्न थालेका छन् ।

संक्रमित थपिने क्रममा पनि कमी आएको छ । १ लाखभन्दा धेरै दैनिक कोराना संक्रमित थपिने गरेकोमा यो घटेको छ । पछिल्लो २४ घण्टामा ६८ हजार ७०८ मा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोना संक्रमण भएका बिरामीको मृत्यु दरमा पनि कमी आइसकेको छ । सुरुका दिनमा कुल संक्रमितको ५ प्रतिशतको ज्यान जाने गरेकोमा अहिले यो घटेर ३ प्रतिशतमा आइपुगेको छ । तर केही हप्ता ३ प्रतिशतमा स्थिर रहेको यो दर त्यसभन्दा तल ओर्लिन सकेको छैन ।

जनवरीको पहिलो हप्ता चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारीले २ लाख ११ हजार भन्दा धेरैको ज्यान लिइसके पनि यसको औषाधि भने अझै पत्ता लागिसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाको औषधिले कोरोना संक्रण पनि निको हुने भन्ने दाबी गरे पनि परीक्षणमा असफल भइसकेको छ । अमेरिकाले यसको औषधिका लागि सोधअरु भइरहेको बताउँदै आएको छ ।

चार महिनामा यो महामारी विश्वका २१३ देशमा रहेका ३० लाखभन्दा धेरै नागरिसकमा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस