अाज बस्ने भनिएकाे नेकपा सचिवालय बैठक नै अनिश्चित

नौलो समाचार संवाददाता
२०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ४३४ पटक पढिएको

अाज बस्ने भनिएकाे नेकपा सचिवालय बैठक नै अनिश्चित

बैशाख १६, काठमाडौं । आन्तरिक विवाद चुलिएका समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक नै अनिश्चित बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो भएको छलफलमा आज सचिवालय बैठक बस्ने र सो बैठकले स्थायी समिति बैठकको मिति तय गर्ने सहमति भएको थियो । यद्यपि सचिवालय बैठक बारे अधिकांश सदस्यहरुले कुनै खवर नआएको बताएका छन् ।

तात्कालिन माओवादी पक्षलाई बेवास्था गर्दै अघि बढ्ने गरी प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच भएको सहमति मान्य नभएकाले आज बस्ने भनिएको बैठक नै अन्योलमा रहेको सचिवालयका एक सदस्यको जिकीर छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी राजनीतिमा दूरगामी प्रभाव पार्ने दुई वटा फरक अध्यादेश ल्याएको भन्दै पार्टीमा असन्तुष्टि बढेपछि सचिवालय र स्थायी समिति बैठकको माग भएको हो । यद्यपि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता भएपछि बैठकको औचित्य पनि सकिएको तर्क गर्दै आउनु भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बरिष्ठ नेता नेपाल पक्षलाई आफुतिर तान्न छलफल तीब्र बनाउनु भएको छ । हिजोमात्र काठमाडौंको वालुवाटार र कोटेश्वर तथा ललितपुरको खुमलटारमा त्रिपक्षीय छलफल भएको थियो । नेताहरुबीच केन्द्र सरकारमा रहेका मन्त्रीहरुको हेरफेर गर्ने, प्रदेश एक र ३ मा मुख्यमन्त्री परिवर्तन गर्नेसम्मका छलफल जारी छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीसम्मको प्रस्ताव गर्दै समर्थनका लागि आग्रह गरेपनि बरिष्ठ नेता नेपालले बिगतमा भएका सहमति समेत कार्यान्वयन नभएकाले बैठकमै छलफल गर्ने बताउदै आउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस