रेडियाे नेपालमा बोलेका कुराको जिम्मा म लिन्छु, कर्मचारीलाई धम्काउने काम नगरः डा. भट्टराई

नौलो समाचार संवाददाता
२०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ५७८ पटक पढिएको

रेडियाे नेपालमा बोलेका कुराको जिम्मा म लिन्छु, कर्मचारीलाई धम्काउने काम नगरः डा. भट्टराई

बैशाख १६, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने भन्दै रेडियो नेपालका कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

डा. भट्टराईले अाज (मंगलबार) ट्वीट गरेर कर्मचारी धम्काउने काम बन्द गर्न सरकारलाई चेतावनी दिएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘रेडियो नेपाल जनताको रगत पसिनाको करबाट संचालित सार्वजनिक संस्था हो। यो कुनै पार्टी, गुट, व्यक्तिको बपौति हैन। त्यहाँबाट प्रसारित विचार निम्ति बोल्ने व्यक्ति जिम्मेवार हुन्छ न कि रेडियोका पदाधिकारी! अन्तर्वार्तामा बोलेका विचारनिम्ति म जिम्मेवारी लिन्छु! कर्मचारीलाई धम्काउने काम नगर! सावधान!’

हिजाे (सोमबार) बिहान जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयले स्पष्टिकरण सोधेको छ।

कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न अाज पत्र काटिएको छ।

अन्तरवार्ताका क्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुर, पंगु, अभिनायवादी जस्ता शब्द प्रयोग गरेर कटाक्ष गरेका थिए।

प्रधानमन्त्री कार्यालयको दबाबपछि हिजाे नै रेडियो नेपालले माफी माग्दै अनलाइन संस्करणबाट भट्टराईंसँग गरेको अन्तरवार्ता हटाएको थियो।

कार्कीलाई यसअघि काम सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्ले नै प्रष्टिकरण सोधेको थियो। त्यस्तै, सञ्चार मन्त्रालयले रेडियो नेपालका समाचार प्रमुख नवराज लम्सालाई पनि स्षष्टीकरण सोधेको छ।


प्रतिक्रिया दिनुहोस