लकडाउनले श्रमिक कष्टकर अवस्थामा : देउवा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १९, शुक्रबार मा प्रकाशित ४४९ पटक पढिएको
लकडाउनले श्रमिक कष्टकर अवस्थामा : देउवा

बैशाख १९, काठमाडौं । लकडाउनले श्रमिकहरु कष्टकर अवस्थामा रहेको जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। मे दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले कोरोनाका कारण लकडाउन हुँदा श्रमिकको अवस्था कष्टकर भइरहेको जनाएका हुन्।

‘अहिले पूरै विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वब्यापी रुपमै प्रताडित भएको छ। नेपाल पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकोले सम्पूर्ण नागरिकको जीवन सहज हुन सकेको छैन,’ देउवाको वक्तव्यमा भनिएको छ, ‘यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ। श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। लक डाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु।’

प्रतिक्रिया दिनुहोस