लकडाउन खुकुलो बनाउने अवस्था छैन : अर्थमन्त्री खतिवडा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १९, शुक्रबार मा प्रकाशित ३७७ पटक पढिएको

लकडाउन खुकुलो बनाउने अवस्था छैन : अर्थमन्त्री खतिवडा

बैशाख १९, काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताउनुभएको छ । उहाँले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताउनुभयो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले गरेको भिडियो कन्फरेन्समा उहाँले लकडाउनको पूर्ण पालना गराउने र आर्थिक गतिविधि सामान्य पार्ने कुरा संभव नहुने बताउनुभयो । ‘अहिले लकडाउन खुकुलो पार्न सक्ने अवस्था छैन, यस्तो अवस्थामा आर्थिक कृयाकलाप चलायमान बनाउने काम भएको छ’, उहाँले भन्नुभयो ।

मन्त्री खतिवडाले जोखिमको मूल्यांकन गर्दै कदम चाल्ने पनि उल्लेख गर्नुभयो । ‘आवागनम रोकेर पर्यटन विकास नहुने भएकाले अहिले सबैभन्दा धेरै प्रभाव यही क्षेत्रमा परेको छ, निजी क्षेत्रलाई परेको समस्या बहन गर्ने विषयमा बहस गर्दा सरकारको क्षमता पनि हेर्नुपर्छ, निजी क्षेत्रले धेरै राजस्व तिर्ने अवस्था आउँदा मात्रै सरकारले धेरै राहत दिन सक्ने हो’, खतिवडाले भन्नुभयो

मन्त्री खतिवडाले बैंकहरुले पैसा छापेर नबाँड्ने भन्दै बैंकहरुको पनि निक्षेपमाथिको लागत हुने विषय सबैले बुझ्नुपर्ने बताउनुभयो । ‘निक्षेपकर्तालाई मारेर तरलता व्यवस्थापन कसरी हुन सक्छ र रु उहाँले भन्नुभयो, ‘केन्द्रीय बैंकले यो छुट र त्यो छुट दिनुपर्योन भन्ने कुरा गर्दा हामीले खोजेका सबल वित्तीय व्यवस्था कसरी होला ?’

छलफलमा नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई परेको समस्याका विषयमा केन्द्रीय बैंकले हेरिरहेको बताउनुभयो ।  उहाँले व्यवसाय बन्द हुँदा लकडाउन लम्बिँदै गए यसको असर जटिल हुने र अर्थतन्त्रको खम्बाको रूपमा रहेको रेमिट्यान्स बन्द हुन सक्ने उल्लेख गर्नुभयो ।

‘चैतबाट रेमिट्यान्स घट्न थालिसकेको र त्यसबाट सिर्जना हुने विदेशी मुद्रा र तरलतामा नै प्रभाव पर्छ, अहिलेसम्म दुई राउन्डको जेजति प्याकेज आएको छ, यो सबै कुरा होइन, हामीले अर्थतन्त्र पुनरुत्थानका लागि धेरै कुरा सोच्नुपर्नेछ’, खतिवडाले भन्नुभयो ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले कोरोना भाइरसबाट ठूलो प्रभाव परेका क्षेत्रलाई सहयोग गर्न र अर्थतन्त्रलाई पुनस्र्थापित गर्ने गरी सरकारले प्याकेज बनाएको उल्लेख गर्नुभयो ।

यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले कोरोनाका कारण वित्तीय क्षेत्रमा प्रभाव देखिइसकेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रेमिट्यान्स घटेको र यसको प्रभाव भुक्तानी सन्तुलनमा पनि देखिने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमिकहरुलाई लकडाउनको बेलामा ५० प्रतिशतको तलब दिनेगरी सुझाव दिइएको र सरकारले त्यसैअनुसार निर्णय लिएको उल्लेख गर्नुभयो । यसबारेमा महासंघको आधिकारिक धारणा आइतबार आउने उहाँले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस