कोभिड–१९ बाट बेलायतमा मृत्यु हुनेको संख्या इटालीमा भन्दा धेरै

नौलो समाचार संवाददाता
२०७७ बैशाख २४, बुधबार मा प्रकाशित ५९२ पटक पढिएको
कोभिड–१९ बाट बेलायतमा मृत्यु हुनेको संख्या इटालीमा भन्दा धेरै

बैशाख २४, एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको हो ।

जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा बढीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या २९ हजार ३१५ रहेको छ ।

चीनपछि सबैभन्दा खराब रुपमा इटालीमा महामारी फैलिएको थियो । तर पछिल्लो समय इटालीमा संक्रमण तथा मृत्युदर नियन्त्रणमा आउने क्रममा छ । महामारीको उच्च तह पार गरेको बेलायतमा भने अझै पनि संक्रमण र मृत्युदर तुलनात्मक रुपमा बढी रहेको छ ।

स्पेनमा अहिलेसम्म कोभिड–१९ बाट २५ हजार ६१३ तथा फ्रान्समा २५ हजार ५३७ जनाको ज्यान गएको छ।

विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ७१ हजार भन्दा बढीको मृत्यु भइरसकेको छ । अझै पनि अमेरिकामा दैनिक एक हजार भन्दा बढीको मृत्यु भएको छ भने २० हजार भन्दा बढी संक्रमित थपिने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस