बैशाख २४, काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएपछि उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो ।
यसरी अस्पताल भर्ना हुनेमा वैशाख ११ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुबाट डिस्चार्ज भएका ५८ वर्षीय पुरुष र वैशाख १४ गते वीरगञ्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ र पर्साका ४४ वर्षीय पुरुष छन् । उनीहरुको विषयमा अध्ययन भइरहेको प्रवक्ता देवकोटाको भनाइ छ ।
नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये सात महिला र १० पुरुष छन्। यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ ।
प्रतिक्रिया दिनुहोस