एकछिन आराम गर्न जान्छु भनेर निस्केका प्रधानमन्त्री नफर्किएपछि विना निष्कर्ष सकियो सचिवालय बैठक

नौलो समाचार संवाददाता
२०७७ बैशाख २४, बुधबार मा प्रकाशित ३६७ पटक पढिएको

एकछिन आराम गर्न जान्छु भनेर निस्केका प्रधानमन्त्री नफर्किएपछि विना निष्कर्ष सकियो सचिवालय बैठक

बैशाख २४, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । भाेलि (बिहीबार) बस्ने स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आराम गर्न जान्छु भनेर निस्किएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

पार्टीभित्रको आन्तरिक मतभेद कम गर्न र सरकारका कामकारवाहीका बारेमा छलफल गर्न २० जना स्थायी कमिटीका नेताहरुले हस्ताक्षर संकलग गरी माग गरेपछि यस अघिको सचिवालय बैठकले वैशाख भोलिका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।

भोलि विहान ११ बजेबाट सुरु हुने भनिएको नेकपा स्थायी कमिटीको बैठकका लागि एजेण्डाबारे छलफल गर्न बसेको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद भएको थियो । आज (बुधबार) बसेको सचिवालय बैठकमा सहमति नभएपछि स्थायी कमिटी बैठक नै अनिश्चित भएको छ ।

‘बैठक कक्षबाट प्रधानमन्त्री ओली झोंक्किएर बाहिरिएका थिए।’ स्रोतले भन्यो, ‘आराम गर्न जान्छु भनेका प्रधानमन्त्री १ घण्टासम्म कुर्दापनि नआएपछि सचिवालयका अन्य सदस्यहरुले बैठक सम्पन्न भएको घोषणा गरे।’

सचिवालय वैठक बिना निष्कर्ष सकिएपछि साँझ अध्यक्षद्वयबीच छलफल भएको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘भोलीको स्थायी कमिटी बैठकका लागि अध्यक्ष काम्रेडहरु छलफलमा हुनुहुन्छ, हामी आशा गर्छौ भोलीको स्थायी कमिटी बैठकका लागि उहाँहरु सहमतिमा आउनुहुने छ।’

स्थायी समिति बैठकका लागि प्रस्ताव र अजेन्डा तय गर्ने सबालमा अध्यक्षद्धय ओली र प्रचण्ड विच सहमति हुन नसक्दा सचिवालय बैठक प्रभावित भएको हो ।


प्रतिक्रिया दिनुहोस