तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान भित्रने

नौलो समाचार संवाददाता
२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ४१२ पटक पढिएको
तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान भित्रने

बैशाख २५, सिन्धुपाल्चोक । चीनसँग जोडिएको तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान भित्रने भएको छ । यसअघि सरकारले स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यवस्तु भित्र्याउने निर्णय गरेको थियो । तर बुधबार व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र भन्सारबीच भएको छलफलमा नाकाबाट सबै व्ययापारिक  सामान ल्याउने  सहमति भएको हो ।

नाकाबाट अत्यावश्यक मेडिकल सामग्री भन्दा अन्य सामान ल्याएको र त्यसबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै स्थानीय जनप्रतिनिधिलगायत स्थानीयले विरोध गर्दै आएका थिए । उनीहरुले चामल, दाल, नून र मेडिकल सामग्री ल्याउन दिने तर स्याउ लसुन जस्ता सामान ल्याउन नदिने भन्दै विरोध गरेका थिए । चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना संक्रमणको जोखिम रहेको उनीहरुको तर्क थियो । भन्सार र स्थानीय जनप्रतिनिधिबीच तीव्र विवाद भएपछि भन्सारले सबैसँग बुधबार छलफल गरेको हो ।

भन्सार प्रमुख लाल बहादुर खत्रीका अनुसार सामान आयात गर्ने तर त्यसको लागि सुरक्षा पहिलो सर्त रहेकाेे उहाँहरुले बताउनुभयो सोही अनुसार सुरक्षा अपनाइ सामान आयात गर्न  भन्सार तयार छ । त्यसको लागि भन्सार कार्यालय र भोटेकोशी गाउँपालिकाले सुरक्षाका लागि आवश्यक समन्वय गर्नेछन् । नाकामा स्वास्थ्य सुरक्षाको उचित व्यवस्था गरि सामान ल्याएमा अवरोध नगरी सामान ल्याउन दिनेमा सबै सहमत भएको उनले जानकारी दिए । अब बजारमा बिक्री हुने र आवश्यक सामानहरु सबै आयात हुनेछन् ।

चीनको वुहानमा कोरोना देखिएपछि सरकारले चीनसँग सीमा जोडिएका रसुवागढी र तातोपानी नाका बन्द गरेको थियो । अत्यावश्यक सामानको आयात गर्ने भन्दै तातोपानी नाका खोल्ने सरकारको निर्णय पछि चैत २६ देखि तातोपानी नाका सञ्चालनमा छ । भूकम्प पछि तातोपानी नाका तीनवर्ष देखि बन्द रहेको थियो । त्यही कारण यहाँका धेरै जनाको रोजीरोटी गुमेको छ ।

प्रतिक्रिया दिनुहोस