सुतिरहेका मजदुरमाथि भारतमा रेल चल्यो, १६ को मृत्यु

नौलो समाचार संवाददाता
२०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ६१४ पटक पढिएको
सुतिरहेका मजदुरमाथि भारतमा रेल चल्यो, १६ को मृत्यु

बैशाख २६, काठमाडौं । भारतको महाराष्ट्र प्रान्तमा स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका मजदुरहरू राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै रेलमन्त्रीलाई आवश्यक सबै सहयोगको लागि निर्देशन दिएको बताएका छन् ।

औरंगाबादका एसपी मोक्षदा पाटिलका अनुसार सबै मजदुरहरू औरंगाबाद नजिकै रहेको जालनाको उक स्टिल कारखानामा काम गर्थे । उनीहरू भुसावल भन्ने स्थानतर्फ गइरहेका थिए । उनीहरूलाई औरंगाबादबाट रेल पाइन्छ भनेर सुनाइएको थियो । रात परेपछि उनीहरू रेलको लिगमा नै सुतेका थिए । रेल आउँदा उनीहरू सुतिरहेको कारण उनीहरुले भाग्ने मौका पाएनन् ।

भारतमा कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । त्यसैले विभिन्न राज्यमा गएर काम गर्ने मजदुरहरू लामो बाटो हिँडेरै घर फर्किने गरेका छन् ।

रेलमन्त्री गोयलका अनुसार चालकले मजदुरहरू लिगमा सुतिरहेको देखेपछि रेल रोक्ने प्रयास गरेका थिए । तर, उनले मजदुरहरूलाई बचाउन भने सकेनन् । मृत्यु हुने सबै मध्यप्रदेशका नागरिक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस