नयाँ नक्सा छाप्न सरकारलाई संसदीय समितिको तेस्रो निर्देशन

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३०, मंगलबार मा प्रकाशित ३४८ पटक पढिएको
नयाँ नक्सा छाप्न सरकारलाई संसदीय समितिको तेस्रो निर्देशन

बैशाख ३०, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतकोे संसदीय समितिले नेपालको अतिक्रमित भूमिबाट भारतीय सेना फिर्ता पठाउन सरकारलाई तेस्रोपटक निर्देशन दिएको छ । यसअघि दुईपटक निर्देशन दिइए पनि सरकारले अटेर गरेपछि मंगलबार (आज) अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुनः निर्देशन दिएको हो ।

अतिक्रमित नेपाली भूभाग समेटेर अविलम्ब नक्सा प्रकाशित गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको हो । भारतले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा ३ नोभेम्बरमा सार्वजनिक गरेको थियो । भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको र नेपाली भूमिमै सडक बनाएको भन्दै अहिले सडकदेखि सदनसम्म विरोध भइरहेको छ ।

नेपालको भूमिमा सडक बनाउनु अन्तर्राष्ट्रिय कानुन, दुई देशबीचको सम्झौता र सहमति, असल छिमेकी नीतिविपरीत भएको पनि समितिले ठहर गरेको छ ।

भारतले तावाघाटदेखि नेपालको दार्चुलाको लिपुलेकसम्म सडक निर्माण गरी उद्घाटन गरिसकेको छ । समितिले लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गराउन सरकारलाई निर्देशनसमेत दिएको छ ।

त्यस्तै समितिले परासीको सुस्ता र कञ्चनपुरको पुनर्वास र बेलौरीलगायत ठाउँमा सीमा व्यवस्थापनको काम अविलम्ब गर्न पनि सरकारलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालसँगको छलफलपछि सरकारलाई समितिले ३ बुँदे निर्देशन दिएको हो ।

समितिमा छलफलका क्रममा सांसदहरूले लिपुलेक हुँदै मार्ग खोल्ने सहमति भारत र चीनबीच भएकाले चीनसँग पनि कुरा गर्नुपर्ने धारणा राखेका थिए । तर, समितिले सरकारलाई दिएको तीनबुँदे निर्देशन र सुझावमा चीनबारे केही उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस