प्रधानमन्त्रीले कोरोना संक्रमण मुक्त भनेको काठमाडौं उपत्यकामा तीन जना नयाँ सक्रमित

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३१, बुधबार मा प्रकाशित ३६९ पटक पढिएको
प्रधानमन्त्रीले कोरोना संक्रमण मुक्त भनेको काठमाडौं उपत्यकामा तीन जना नयाँ सक्रमित

बैशाख ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणमुक्त भएको घोषणा गरेका थिए।

तर स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौँ उपत्यकामा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमितमध्ये काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुष रहेका छन्।

सरकारले पछिल्लो समय उपत्यका छिर्ने नाकामा कडाइ गरी भित्र लकडाउन केही खुकुलो बनाएको थियो। खुकुलो बनाएयता उपत्यकामा सवारी चापहरु देखिएका थिए भने मानिसको चहलपहल पनि बाक्लिएको थियो। तर उपत्यकाबाहिर खासगरी सीमावर्ती जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेपछि त्यसको असर काठमाडौँमा पर्न सक्ने देखिएको थियो।

बाहिरबाट सामान लिएर आउने सवारी साधनमा मानिसहरु लुकेर आउने गरेको पाइए पनि प्रशासन गम्भीर देखिएन। अर्कोतर्फ स्थानीय प्रशासनले उपलब्ध गराउने सवारी पासबाट पनि मानिसहरु काठमाडौं भित्रिएका थिए।

प्रयोगशालाले काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखाएपछि मंगलबार साँझ प्रहरी महानिरिक्षक ठाकुर ज्ञवाली र गृह सचिव महेश्वर न्यौपानेले काठमाडौं प्रवेश गर्ने नागढुंगा पुगेर स्थलगत निरीक्षण गरेका थिए।

त्यसअघि काठमाडौं उपत्यकाको लकडाउन व्यवस्थापनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोखेको बुझिएको छ। प्रयोगशालाको रिपोर्टबारे जानकारी प्राप्त भएपछि प्रधानमन्त्री ओली सुरक्षा तथा गृहका अधिकारीसँग रुस्ट बनेको बताइएको छ।

काठमाडौं उपत्यकामा भेटिएका नयाँ संक्रमितमा कसरी संक्रमण भयो र उनिहरु कहाँका हुन् भन्नेबारे केही बताइएको छैन। गृह मन्त्रालयले साँझमात्र एक जिल्लाबाट अर्को जिल्लामा जाने सम्पुर्ण सवारी पास रद्ध गर्ने निर्णय गरेको थियो। यसैगरि काठमाडौँ उपत्यका आउनु परे गृह मन्त्रालयको स्विकृति अनिवार्य गर्ने निर्णय गरेको थियो। केही सातायता काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको समुदायमा पुगेर परिक्षण गर्ने काम पनि रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस