सेनाले भित्रायो चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ४८३ पटक पढिएको
सेनाले भित्रायो चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री

जेठ ६, काठमाडौं । नेपाली सेनाद्वारा चीनबाट खरिद गरिएका कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु नेपाल आईपुगेको छ।

खरिद गरिएका स्वास्थ्य सामग्रीहरु मध्ये नेपाल वायु सेवा निगमको जहाजबाट अाज (मंगलबार) १८.७ टन स्वास्थ्य सामग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई पुर्‍याएको छ। साथै जेष्ठ ३ गते १० (दश) वटा कन्टेनरबाट २६५ क्युविक मिटर र आज ५ वटा कन्टेनरबाट १७६ क्युविक मिटर स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै नेपाल ल्याई पुर्‍याएको हो।

सरकारको गत चैत्र १६ गतेको ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत जीटुजी विधिबाट खरिद गर्ने’ निर्णय अनुसार अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलन अनुरुप प्रचलित सार्वजनिक खरीद ऐन तथा नियमावलीको परिधिभित्र रहि नेपाली सेनाले खरिद प्रक्रिया अघि बढाएको जनाएको छ।

जंगी अड्डाका अनुसार चीनको सरकारी स्वामित्वमा रहेको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग कूल मूल्य एक करोड ८४ लाख ४१ हजार सात सय छ रुपैयाँ ३५ पैसाको औषधिजन्य सामग्रीहरु खरिद गर्ने सम्झौता भए बमोजिम उक्त स्वास्थ्य सामग्रीहरु प्राप्त भएको हो।

प्रतिक्रिया दिनुहोस