सेना परिचालनको प्रस्ताव लिएर शीतलनिवासमा प्रधानमन्त्री ओली

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १९, सोमबार मा प्रकाशित ४७७ पटक पढिएको

सेना परिचालनको प्रस्ताव लिएर शीतलनिवासमा प्रधानमन्त्री ओली

जेठ १९, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) तीव्र गतिमा फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सेना परिचालनको प्रस्ताव लिएर शीतलनिवास पुगेका छन्। सेना परिचालनको प्रस्ताव लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली अाज (सोमबार) शीतलनिवास पुगेका हुन्। सो प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्नुपर्ने संविधानमा उल्लेख छ।

विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने प्रस्ताव लिएर राष्ट्रपति कहाँ गएको बालुवाटार स्रोतले जानकारी दियो। राष्ट्रपति, प्रधानमन्त्री र चार वटै सुरक्षा निकायका प्रमखुहरुबीच छलफल भइरहेको छ। जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको थियो।

संविधानको धारा २६७ (४)मा नेपाल सरकारले नेपाली सेनालाई संघीय कानुन बमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमासमेत परिचालन गर्न सकिने उल्लेख छ । सेना परिचालन गर्न मन्त्रिपरिषदबाट पठाएर राष्ट्रपतिले अनुमोदन गरेपछि सेना परिचालन गर्न सकिने छ।

धारा २६७ कै उपधारा ६ मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने प्रावधान छ।

त्यस्तै उपधारा ६ मा नेपाली सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्ने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस