सुनको मूल्य लकडाउन खुलेपछि एक लाख नाघ्न सक्ने, मुद्रा संकुचनका कारण उकालो लाग्दैछ मूल्य

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ५२६ पटक पढिएको

सुनको मूल्य लकडाउन खुलेपछि एक लाख नाघ्न सक्ने, मुद्रा संकुचनका कारण उकालो लाग्दैछ मूल्य

जेठ २१, काठमाडौं। लकडाउन खुल्नेबित्तिकै सुनको भाउ प्रतितोला एक लाख रूपैयाँ पुग्यो वा त्योभन्दा पनि माथि उक्लियो भने अचम्म नमान्न तयार हुनुस्। लगानी सुरक्षित हुने भन्दै अन्तर्राष्ट्रिय बजारका लगानीकर्ता सुनमा आकर्षित भएपछि भाउ अझ उक्लिने अवस्था बनेको हो।

सुनलाई मुद्रास्फीति (इन्फ्लेसन) बाट सुरक्षित रहने उत्तम कमोडिटीका रूपमा हेर्ने गरिएको छ। मुद्रास्फीतिबाट बच्नका लागि गरिने सुनलगायत अन्य कुनै पनि विकल्पको (तुलनात्मकरूपमा सुरक्षित) लगानीलाई ‘हेज अगेन्स्ट इन्फ्लेसन’ भनिन्छ।

लगानीकर्ताहरुले अन्य विकल्पभन्दा सुनमा यही सुरक्षा (हेज अगेन्स्ट इन्फ्लेसन) देख्दा पछिल्ला केही महिनायता सुनको मूल्य विश्व बजारमा निरन्तर उक्लँदो क्रममा छ। नेपालमा पनि यसको प्रभाव देखिएको छ।

लकडाउन लागू हुनुभन्दा एक दिनअघि (१० चैतमा) सुनको कारोबार मूल्य तोलाको ७७ हजार रूपैयाँ पुगेको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार भइरहे पनि नेपालमा भने बजार कारोबार बन्द छ। यसका बाबजुद दुई महिना तीन दिनपछि गत हप्ता (बुधबार) नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन-चाँदीको मूल्य सार्वजनिक गर्‍यो।

महासंघले बुधबार सुनको मूल्य तोलाको ८६ हजार ८० रुपैयाँ तोकेको थियो। पछिल्लोपटक बजार बन्द हुँदाको भन्दा यो तोलामा एकैचोटी ९ हजार ८० रुपैयाँले बढेको हो। त्यसयता जेठ १५ मा आएको बजेटले प्रतिदश ग्राम दुई हजार रुपैयाँ (तोलाको रु. २३३२) ले सुनको भन्सार बढाएको छ । अघिल्लो साता सार्वजनिक मूल्यमा बजेटबाट बढाइएको भन्सार समेत जोड्दा तोलाको करीब ८८ हजार रुपैयाँ यसैपनि पुगिसकेको देखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहँदा नेपाली बजारमा भने भाउ सार्वजनिक नहुँदा उपभोक्ता अन्योलमा परेको भन्दै महासंघले बुधबार सुनचाँदीको मूल्य सार्वजनिक गरे पनि कारोबार भने अझै खुला भइसकेको छैन।

सुनचाँदी व्यवसायीहरुको अर्को संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघ भने सुनचाँदी रत्न तथा आभूषण महासंघले तोकेको मूल्यलाई आधिकारिक नस्विकार्ने बताउँछ। यद्यपि, उसले पनि अहिले कारोबार खुला गरे सुनको कारोबार मूल्य तोलाको ९० हजारमाथि पुगिसकेको बताएको छ।

सुनचाँदी बिक्रेताहरुको संस्थागत द्वन्द्वलाई अलग्गै राखेर हेर्ने हो भने पनि लकडाउन खुलेपछि सुनको मूल्य तोलाको एक लाख रुपैयाँभन्दा माथि जाने प्रायः सबै सुनचाँदी व्यवसायीहरु बताउँछन्।

तर, सुनको अन्तर्राष्ट्रिय बजार मूल्यले यसलाई कसरी निर्देशित गर्छ त्यो हेर्न भने बाँकी नै छ। अन्तर्राष्ट्रिय मूल्य पनि लगानीकर्ताहरुको यो पहेँलो धातुप्रतिको विश्वासमा निर्भर रहन्छ।

कोभिड–१९ बाट विश्व अर्थव्यवस्थाको चाल शिथिल हुँदै जाँदा मूल्यवृद्धि (मुद्रास्फीति) को आकलन धेरैले गरेका छन्, जसमा विभिन्न लगानी विकल्पहरुमा कुस्त पैसा लगाउने संसारका ठूला लगानीकर्ताहरुको समूह पनि छ। मुद्रास्फीतिको यही आकलनका कारण लगानी सुरक्षाका लागि सुनप्रति आकर्षण बढ्दा मूल्य ह्वातह्वाती उक्लिरहेको विश्लेषण धेरैको छ।


प्रतिक्रिया दिनुहोस