पोल्ट्री संघले कुखुराको मासुको थोक मूल्य बढायो, उपभोक्तालाई अब किलोको ३३० रुपैयाँ पर्ने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ५३० पटक पढिएको
पोल्ट्री संघले कुखुराको मासुको थोक मूल्य बढायो, उपभोक्तालाई अब किलोको ३३० रुपैयाँ पर्ने

जेठ २१, काठमाडौं । आपूर्ति कम हुन थालेपछि पोल्ट्री संघले कुखुराको तयारी मासुको मूल्य बढाएको छ । संघले मासुको मूल्य किलोमा १० रुपैयाँले वृद्धि गरेको बताएको छ ।

यससँगै थोक मूल्य ३१० देखि ३१५ रुपैयाँ प्रतिकिलो पुगेको छ भने उपभोक्ता मूल्य ३३० रुपैयाँको हाराहारीमा हुने संघको भनाइ छ । साथै जिउँदो कुखुराको मूल्य पनि २२० रुपैयाँबाट बढेर २५० रुपैयाँ पुगेको संघले जानकारी दिएको छ ।

कुकुराजन्य उत्पादनको मूल्य उकालो लाग्नुको मूल कारण झन्डै साढे दुई महिनादेखि जारी लकडाउन भएको पोल्ट्री व्यवसायीहरुले बताएका छन् ।

लकडाउनको अवधि लम्बिँदै जाने हो भने बजारमा कुखुराको मासु र अण्डाको मूल्य अझ बढ्दै जाने नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुण चन्द्र बिष्टले बताए ।  लकडाउनका कारण ह्याचरी तथा कुखुरापालन व्यवसायमा गम्भीर असर परेको उनको भनाइ छ ।

सामान्यतया माग तथा खपत बढेको अवस्थामा मूल्य बढ्ने भए पनि अहिले कुखुराको मासुको मूल्य बढ्नुको कारण लगभग उल्टोजस्तै रहेको देखिन्छ ।

पोल्ट्री संघका अध्यक्ष जंगबहादुर बिसी भन्छन्, ‘लकडाउनका कारण बजार बन्द हुँदा मासु बिक्री घटेपछि मासुको मूल्य उकालो लाग्न थालेको हो, उपभोक्ताबाट माग र खपत बढेर होइन ।’

बिक्री नै कम हुँदै गएपछि अधिकांश कुकुरापालक किसानहरुले अहिले आफ्ना पोल्ट्री फर्ममा नयाँ कुखुरा हाल्न छोडेको बिसीको भनाइ छ । यसकारण पनि पछिल्लो समय कुखुराको उत्पादन र आपूर्तिमा कमी आउँदा यसको चाप बजार मूल्यमा परेको हो ।

‘लकडाउनको प्रभावले मासु पसलहरु केही समय मात्र खुल्ने भएकोले खपत कम भएको छ । यसबाट माग र बिक्री न्यून हुँदा उत्पादन पनि निकै कम भइसकेको छ,’ बिसीले भने ।

लकडाउनको सुरुआती दिनमा माग स्वाट्ट घट्दा अर्कोतर्फ उत्पादन बढी हुँदा मूल्य घटेको थियो । तर अहिले भने उपत्यकाको तुलनामा कुखुरा उत्पादनको हब तराई र चितवनमा कुखराको मूल्य अझ बढेको छ । बजार ओरालो लागेपछि जोखिम मोलेर किसानहरुले उत्पादन गरेका छैनन् । अहिले सामान्य अवस्थामा तयारी मासुको मूल्य २ सय ५० देखि ३ सय रुपैयाँबीच हुनुपर्ने बिष्टको भनाइ छ । तर, यस्तै भइरहने हो भने अर्को महिना कुखुराकै मासुको मूल्य किलोको पाँच सय रुपैयाँ पुग्ने उनी बताउँछन् ।

‘लकडाउनको समयमा जोखिम मोलेर कुखुरा पालिरहेका बाहेक अन्य संघ र किसानले तत्काल कुखुरा तथा अन्डा उत्पादन गर्न सक्दैनन्, पालिएका कुखुरा सकिँदै गएका छन् । नयाँ उत्पादन बजारमा आउन पनि समय लाग्छ,’ बिष्टले भने । कोरोनाको प्रभावले कुखुरा व्यवसाय संटकमा परेकाले पोल्ट्री व्यवसायले दैनिक करोडौं घाटा व्योहोर्दै आएको उनले बताए ।

करीब दुई महिनादेखि नै कुखुराको उत्पादन घट्दै गएको छ । उचित मूल्य नपाउँदा व्यवसायीहरुले केही महिनाअघि उत्पादित चल्लाहरु नष्ट गरेका थिए । लकडाउन लागु भएपछि नै पालेका चल्ला र कुखुरा समेत जिउँदै गाडिएकाले बजारमा अभाव हुने अवस्था आउन सक्ने व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस