ललितपुरमा देखिन थाल्यो फौजीकीरा

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ६५१ पटक पढिएको
ललितपुरमा देखिन थाल्यो फौजीकीरा

जेेठ २१, काठमाडौं । बालीका लागि हानिकारक कीराका रूपमा लिइने फौजीकीरा ललितपुरको विभिन्न भू–भागमा देखिन थालेको छ । मुलुकको विभिन्न भू–भागमा देखिएको कीरा ललितपुरमा पनि देखिन थालेको हो ।

ललितपुरको दक्षिण भेगमा पर्ने बाग्मती गाउँपालिकाको वडा–४ प्युटार, वडा–६ आश्राङलगायतका भू–भागको प्रमुख बालीहरूमा देखिन थालेको किसान बताउँछन् ।

प्युटारका किसान मानबहादुर तामाङले फौजीकीराले मकैबाली नाश गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘अहिलेको मुख्य बाली मकैको बिरुवामा कीरा लागेको छ । प्रायः बोटमा कीरा लागेको छ । बोट सबै कामै नलाग्ने भयो ।’ –उहाँले भन्नुभयो ।

आश्राङमा पनि त्यही समस्याले किसानलाई पिरोलेको स्थानीय केदार मगरले बताउनुभयो । उहाँले भन्नुभयो– ‘भर्खरै हुर्कंदै गरेको मकैको बोटमा कीरा लागेको छ । कीराले बोटको टुप्पो, पात खाएर सखापै पारेको छ । सबै किसानलाई यसले पिरोलेको छ ।’

बाग्मती गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख सुवास खनालले उक्त कीरा फौजीकीरा भएको बताउँदै कीराको नियन्त्रण र जोगिनका लागि काम गरिरहेको बताउनुभयो ।

‘पालिकाको केही भू–भागमा मकै बालीमा फौजीकीराले प्रकोप ल्याएको छ । कीराको प्रकोपलाई निर्मूल पार्ने कोशिस गर्दै छौं ।’ –उहाँले भन्नुभयो ।

त्यस्तै पालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले फौजीकीराको प्रकोप रहेको स्थानको स्थलगत अवलोकन गर्दै चिन्तित किसानलाई आवश्यक औषधि र स्प्रेयरको व्यवस्था गर्दै प्रकोप नियन्त्रणको प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँले औषधिको प्रयोगले प्रकोप नियन्त्रण हुने विश्वास लिएको बताउनुभयो ।

अमेरिकन फौजीकीरा बालीका लागि निकै हानिकारक मानिन्छ । कीराको लार्भाले बालीमा क्षति पु¥याई प्रकोप निम्त्याउँछ । लार्भा धेरै खन्चुवा हुने स्वभावले गर्दा मकैको पात, गुभो, जुँगा र घोगासमेत खाएर सखापै पारिदिन्छ ।

खेतबारीको नियमित अवलोकन गर्दै सामूहिकरूपमा लाग्नुपर्ने देखिन्छ, व्यवस्थापनका लागि रातको समयमा मकैबारीमा पातपतिङ्गर जम्मा गरेर आगो बाल्नाले त्यसका पुतली आगोमा आकर्षित भएर मर्ने विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस