लकडाउनको देशव्यापी उल्लंघन, सरकार दबाबमा

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २२, बिहिबार मा प्रकाशित ४९० पटक पढिएको
लकडाउनको देशव्यापी उल्लंघन, सरकार दबाबमा

जेठ २२, काठमाडौँ । कोरोना भाइरसको फैलावट रोक्नका लागि सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनको देशव्यापी उल्लंघन भएको छ ।

राजधानी काठमाडौँसहित देशभरका शहरमा व्यापार व्यवसायहरु सुचारु हुन थालेका छन् । सरकारले लकडाउनको मोडालिटी फेर्ने तयारी गरिरहेको बताइरहेकै बेला व्यापारीहरु भने अब धैर्य गर्नै नसकिने अडानका साथ लकडाउन उलंघन गर्दै व्यापार व्यवसाय सुचारु गर्न थालेका हुन् ।

कतिपय ठाउँमा स्थानीय तहले नै व्यापार व्यवसाय सुचार गर्ने निर्णय गरेका छन् भने कतिपय ठाउँका उद्योग वाणिज्य संघले विज्ञप्ति नै निकालेर यही मोडालिटीकै लकडाउन अब मान्य नहुने चेतावनी सरकारलाई दिएका छन् ।

झण्डै अढाइ महिनासम्म सरकारले घोषणा गरेको लकडाउनको इमान्दारीका साथ पालना गरेका व्यापारीहरु सरकारले करका लागि ताकेता गरेकै दिनदेखि व्यापार सुचार गर्न माग गर्दै सडकमा उत्रेका थिए ।

लकडाउन उल्लंघन गर्दै पसल खोल्न थालेपछि काठमाडौँको मैतीदेवी, बौद्ध लगायतका क्षेत्रमा व्यापारी र प्रहरीबिच तनाव समेत भएको थियो ।

सरकारले एकातिर महिनौँसम्म लकडाउन लम्ब्याउने अर्कोतिर करका लागि ताकेता गर्न थालेपछि व्यापारीहरुको धैर्यता टुटेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । उनले भने, ‘महिनौँदेखि लकडाउन भएका बेला व्यापारीले कहाँबाट कर तिर्ने, हामी पर्याप्त सावधानी अपनाएर पसल खोल्छौँ, यसरी त व्यापारी मात्रै होइन, राज्यको अर्थतन्त्र नै खरानी हुन्छ ।’

अध्यक्ष कटुवालले पसलको सटर बन्द गरेर बसेका व्यापारीलाई निचोरेर केही नझर्ने कुरा सरकारले बुझ्नपर्ने बताए । उनले भने, ‘व्यापारीले पनि व्यवसाय गरेरै कर तिर्ने हो, व्यापार गर्न नदिने अनि कर मात्रै तिर भनेर हुँदैन यो बेला व्यापारीलाई निचोरेर केही झर्दैन भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।’

लकडाउनका बेला सरकारले कर माग्ने, घरधनीले भाडा माग्ने, बैंकहरुले ब्याज र किस्ता माग्ने गरेपछि व्यवसायीहरुमा संकट पैदा भएको बताउँदै अध्यक्ष कटुवालले अब पसल खोल्न दिने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

‘होइन भने सरकारले कर तिरेन भन्दै थुन्न खोजे पनि व्यवसायीहरु त्यसका लागि विवश हुने परिस्थिति छ’, कटुवालले भने ।

व्यापारीले दबाब बढाएपछि सरकार पनि अब लकडाउनको मोडालिटी फेर्ने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस