नेकपा सचिवालय बैठक भाेली बस्ने बैठकमा एमसीसीबारे छलफल हुने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २५, आईतबार मा प्रकाशित ३७९ पटक पढिएको

नेकपा सचिवालय बैठक भाेली बस्ने बैठकमा एमसीसीबारे छलफल हुने

जेठ २५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबार बस्ने भएको छ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले भाेली दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्। सचिवालय बैठकमा लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल हुँदैछ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडानमा छन्। प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन्।

एमसीसीको विषयमा चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो। कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य थिए। कार्यदलले तयार पारेको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव दिइएको छ।

नेकपामा नेताले पार्टी स्थायी समिति बैठकको माग लामो समयदेखि गरे पनि ओली तयार भएका छैनन्।

स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय  ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए। ४५ सदस्यीय स्थायी समितिका २० सदस्य अर्थात् (झण्डै ४५ प्रतिशत) नेताले स्थायी समिति बैठक बोलाउन माग गत वैशाख १० मै गरेका थिए। त्यसयता वैशाख २५ र ३१ गतेका लागि स्थायी समितिको बैठक मिति त तोकियो, तर बैठक बसेन।


प्रतिक्रिया दिनुहोस