पाँचखालका किसानले बाँडे बालगृह र वृद्धाश्रमलाई तरकारी र खाद्यान्न

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २६, सोमबार मा प्रकाशित ५८१ पटक पढिएको
पाँचखालका किसानले बाँडे बालगृह र वृद्धाश्रमलाई तरकारी र खाद्यान्न

जेठ २६, काभ्रे । पाँचखाल नगरपालिकाका किसानले तरकारी बिक्री नभएपछि बालगृह र वृद्धाश्रममा वितरण गरेका छन् । तिनपिप्ले युवा क्लबले पाँचखालका विभिन्न स्थानमा पुगेर बिक्री नभएर खेतमै खेर गएका तरकारी संकलन गरी वितरण गरेको हो ।

किसानले लगाएको तरकारी नबिक्ने र बिके पनि न्यून मूल्य आएका कारण संकलन गरेर वृद्धाश्रम र बालगृहमा पुराएको क्लबका अध्यक्ष सरोज धितालले बताए । ‘किसानले फलाएको तरकारी बिक्री नभएको भन्ने थाहा पाएपछि उनीहरूसँग कुरा गर्दा निःशुल्क दिन इच्छुक भएपछि हामीले संकलन गरेका हौँ,’ अध्यक्ष धितालले भने, ‘किसानले निःशुल्क तरकारी दिनुभयो, हामीले संकलन गरेर गाडीमा राखी वृद्धाश्रम र बालगृहमा पुऱ्यायौँ ।’ कहीँ तरकारी बिक्री नहुने र कहीँ खानलाई नहुने यस्तो अवस्थामा सहयोग गरेको धितालले बताए । क्लबले काभ्रे जिल्लाको पनौतीस्थित हेल्प नेटवर्क, प्राणनाथ माइती वृद्धाश्रम र ह्याप्पी चिल्ड्रेन होममा तरकारी वितरण गरेको उनले जानकारी दिए ।

साथै भक्तपुर, ललितपुर र काठमाडाैंमा रहेका वृद्धाश्रम र बालगृहलाई पनि तरकारी वितरण गरेको छ । उनीहरूले काभ्रे जिल्लाबाहिर दियोमा वृद्धाश्रम ठिमी, ह्याप्पी होम्स बोडेगाउँ, आमाघर सोल्टीमोड, मानव सेवा आश्रम बुढानीलकण्ठ, सुनौलो पाइला जोरपाटी, कान्ति भैरव गुरुकुल जोरपाटीलगायतमा पनि तरकारी पुऱ्याएको जनाएका छन् ।

क्लबले आश्रितको संख्या हेरेर लगभग १५ दिनलाई पुग्ने तरकारी पुऱ्याएको धितालले बताएका छन् । तरकारीसँगै क्लबले चामल, नुन, तेल र मस्यौरा पनि वितरण गरेकाे छ ।

source: nayapatrikadaily.com

प्रतिक्रिया दिनुहोस