‘एमसीसी तोडेर अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्न हुन्‍न’ : खतिवडा

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित ७७७ पटक पढिएको
‘एमसीसी तोडेर अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्न हुन्‍न’ : खतिवडा

जेठ २७, काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोड्न नहुने बताएका छन् । अमेरिकी सहयोग निकायसँग भएको एमसीसी सम्झौतालाई लिएर सत्तारुढ दल नेकपाभित्र र संसदमा पनि विवाद रहेको बेला अर्थमन्त्री खतिवडाले उक्त सम्झौता नेपालले तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने बताएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट र योजनामाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा संसदले एमसीसी पारित गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

नेकपाका सांसदहरू भीम रावललगायतका सांसदहरूले नेपालको संविधान र कानुनसँग एमसीसी सम्झौताका बुँदा बाझिएमा एमसीसीका बुँदा लागु हुने लगायतका राष्ट्र हित विरोधी र नेपालको सार्वभौमिकतामा आँच आउने कुरा रहेकाले संशोधनबिना पारित गर्न नहुने बताएका थिए । अर्थमन्त्री खतिवडाले भने उक्त सम्झौता पारित गर्नुपर्ने बताएका हुन् ।

‘एमसीसी आयोजना हामी आफैंले गर्दाखेरि तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने हामीले गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दैन,’ खतिवडाले भने । उनले यसबारे संसदले छिट्टै छलफल चलाउनुपर्ने पनि बताए ।

‘एमसीसी सम्झौता पत्र संसदमा विचाराधीन छ । यहाँ छलफल भइजाओस् । यो कसैको सुरक्षा छातामा छ या छैन यसमा त्यहि बेला छलफल हुन्छ । तर यो एउटा सहायता सम्झौता हो,’ मन्त्री खतिवडाले भने, ‘यो सहायता सम्झौता अर्थ मन्त्रालयले गरेको हो । अर्थ मन्त्रालयले को मन्त्री हुँदा गर्‍यो भन्ने विषय भएन । प्रधानमन्त्रीले भन्नुभएको छ- यो सरकारको निरन्तरताको प्रसंग हो ।’

एमसीसी सम्झौतामा रहेका कुराहरू सच्चिनेमा अर्थमन्त्रीले कूटनीतिक जवाफ दिएका छन् । नेकपाका नेताहरूले सम्झौता नै नेपालको हीत विपरीत भएको बताइरहेका बेला अर्थमन्त्रीले भने सहायक सम्झौतामा सच्याउन सकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस