सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई दिइन्न : शिक्षामन्त्री

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित ५०५ पटक पढिएको

सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई दिइन्न : शिक्षामन्त्री

जेठ २७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको सुधारको जिम्मा निजी विद्यालयलाई नदिने प्रस्ट पारेका छन्।

मंगलबार मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री पोखरेलले निजी विद्यालयबाट रकम लिएर कोष खडा गरी सामुदायिक विद्यालयको सुधारमा खर्च गरिने बताए।

‘संविधान र शिक्षा नीतिविपरीत सार्वजनिक विद्यालय सुधारका लागि निजी विद्यालयलाई जिम्मेवारी दिइने छैन। निजी विद्यालयबाट रकम लिएर कोष स्थापना गरी विधि बनाएर सामुदायिक विद्यालयको सुधारमा खर्च गरिनेछ ’, मन्त्री पोखरेलले भने, ‘यसका लागि अन्य उपयुक्त विकल्पमा पनि छलफल गर्न सकिन्छ।’

मन्त्री पोखरे्लले अभिभावक र विद्यार्थीमा रहेको एसईई, कक्षा ११ र १२ को परीक्षाको अन्योलता अब धेरै दिन नरहने बताए।

‘परीक्षा सन्दर्भमा विद्यार्थी तथा अविभावकमा रहेको अन्योलतालाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने।

मन्त्री पोखरेलले कोरोनाका कारण एसईई र कक्षा ११ र १२ को परीक्षा रोकिएको र विश्वविद्यालय तहका विभिन्न परीक्षा स्थगित भएको भन्दै त्यसको उचित व्यवस्थापन गरी शैक्षिक क्षति हुन नदिने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताए।

मन्त्री पोखरेलले कोरोना महामारीका बेला शैक्षिक सत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताए। शिक्षा मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि सुझाव लिई कार्यान्वयन शुरु गरिएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस