योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीको जवाफ : नेपाल हेपिन तयार छैन

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित ७८१ पटक पढिएको
योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीको जवाफ : नेपाल हेपिन तयार छैन

जेठ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय र आलोच्य भएको बताएका छन् । अाज (बुधबार) प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई नहेप्न पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई स्मरण गराए ।

प्रधानमन्त्री ओलीले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसरी बोल्नु भएको भए त्यो जायज होइन । यदि उहाँले नेपाललाई धम्काउन खोज्नु भएको हो भने उचित होइन ।’ योगी आदित्यनाथ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको भन्दै प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीका हिसाबले बोलेको हो भने आलोचनायोग्य अभिव्यक्ति दिएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘उहाँ मुख्यमन्त्रीका हिसाबले यदि त्यस्तो बोलेको हो भने बोल्नु भएको हो भने आलोच्य विषय हो । यदि उहाँले नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएका थिए । भारतीय समाचार संस्थाहरुसँगको अन्तर्वार्तामा मुख्यमन्त्री योगीले ‘नेपाललाई तिब्बतले जस्तै गल्ती नदोहोऱ्याउन’ चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस