लकडाउनको ८३ दिनपछि अाज सरकारी तथा गैरसरकारी कार्यालयहरु खुले

नौलो समाचार संवाददाता
२०७७ अषाढ १, सोमबार मा प्रकाशित ५५५ पटक पढिएको
लकडाउनको ८३ दिनपछि अाज सरकारी तथा गैरसरकारी कार्यालयहरु खुले

असार १, काठमाडौँ । लकडाउनको ८३ दिनपछि अाज (सोमबार)देखि सरकारी तथा गैरसरकारी कार्यालयहरु खुलेका छन् ।सरकारको निर्णयअनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् । बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म र १ बजेबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् ।

सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु पनि सञ्चालनमा आएका छन् । लकडाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ ।

सरकारले जोरबिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे पनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ । कार्यालय प्रवेश गर्नु अगाडि सामाजिक दूरी कायम गर्दै तापक्रम लिने गरिएको छ । हात धोएर कार्यालय भित्रसमेत सामाजिक दूरी कायम गर्नुपर्ने बताइएको छ । सेवाग्राहीहरुले समेत सेवा लिन जाँदा सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

मन्त्रिपरिषद्को जेठ २८ गते बसेको बैठकले सोमबारदेखि कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । लकडाउन खुकुलो भए पनि मानिसको भीडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमतिप्राप्त बाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलनलगायतका क्षेत्र बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस